लकडाउनमा ६० प्रतिशतले माग घटेपछि उद्योगमै थन्किए औषधि

काठमाडौं। कोभिड-१९ को महामारी विश्‍वभर फैलिँदै थियो। त्यहीबीच २१ पुस २०७७ मा भारतले २६ प्रकारका औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ निर्यात रोक्ने निर्णय गर्‍यो।

भारतको उक्त निर्णयसँगै नेपालमा औषधिको अभाव हुने अनुमान गरिएको थियो। नेपालका औषधि उद्योगहरूले भारतबाट कच्चा पदार्थ आयात गर्ने गरेकाले नेपालमै उत्पादन हुने औषधिको पनि अभाव हुने आकलन गरिएको थियो। तर, भारत सरकारले उक्त प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएपछि औषधिको अभाव नहुने ढुक्क भयो।

त्यसको झण्डै पाँच महीना पूरा हुन लाग्दा नेपाली औषधि बजारमा ठ्याक्कै उल्टो दृश्य देखापरेको छ। लकडाउनको समयमा औषधिको माग घटेको छ। नेपाल औषधि उत्पादक संघका अनुसार लकडाउन अवधिबीच ६० प्रतिशतभन्दा बढीले माग घटेको छ।

संघका अनुसार नेपालमा वार्षिक ४५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ। गत वर्ष मात्रै ४५ अर्बको औषधि र कच्चा पदार्थको खपत भएको थियो। त्यसमध्ये २५ अर्ब रुपैयाँको आयात गरिएको थियो।

सामान्य अवस्थामा नेपालमा दैनिक १२ करोड ५० रुपैयाँबराबरको औषधि खपत हुँदै आएको छ। तर, लकडाउका कारणले दैनिक खपत हुँदै आएको औषधिको ६० प्रतिशतभन्दा बढी माग घटेको छ।

संघका अध्यक्ष नारायण क्षत्रीका अनुसार लकडाउनले अधिकांश अस्पताल र क्लिनिक बन्द हुँदा माग घटेको हो। क्षत्रीले भने, “उपत्यकाका सबै क्लिनिक ठप्पप्रायः छन्। खुलेका अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। कोरोना संक्रमितको उपचार नहुने अस्पतालमा बिरामीको चाप कम छ।”

लकडाउन कडा भएकाले गम्भीर रोगका बिरामीहरू अस्पताल जान नसक्दा पनि औषधिको खपत कम भएको क्षत्रीको ठम्याइ छ। बिरामीहरू अस्पताल नै पुग्न नसकेपछि सबैभन्दा बढी औषधि खपत हुने क्लिनिक र अस्पतालमा बिरामीको भिडभाड कम भएको छ।

संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले सामान्य समस्या भएका बिरामीहरू अनावश्यक रूपमा अस्पताल जानै छाडेको बताए। “सामान्य रुघाखोकी लागेको तर घरेलु औषधि खाएर निको पार्न सकिने रोगको परीक्षण गर्न अस्पताल र क्लिनिक नजाँदा माग घटेको हुन सक्छ,” दाहाल भन्छन्।

त्यसैगरी, औषधिको बिक्री गर्न खोलिएका अधिकांश फार्मेसीहरू समेत बन्द छन्। खुलेका फार्मेसीहरू समेत साँझबिहान खुल्ने गरेका छन्। खुलेका फार्मेसीमा पनि पहिलेको तुलनामा औषधि लिनेहरूको घुँइचो छैन।

यस्तै, नेपालमा औषधि अभाव हुने हल्ला फैलिएसँगै रक्तचाप, मधुमेह र मानसिक रोगीले आफूलाई चाहिने औषधि जम्मा गरेकाले पनि औषधि खपत कम भएको दाहाल बताउँछन्।

एसियन फर्मास्युटिकल्सका अध्यक्ष शंकर घिमिरेले काठमाडौंका सबै अस्पतालमा र क्लिनिकमा बिरामीको चाप घटेको बताए। “बिरामीको चाप घट्दा त्यसको प्रत्यक्ष असर औषधिको मागसँग हुन्छ। त्यसैले बिरामीको चाप घट्दा औषधिको माग घट्नु सामान्य हो,” उनी भन्छन्।

औषधिको माग घटेसँगै औषधि उद्योगहरूमा आगामी चार महीनासम्मलाई पुग्‍ने औषधि मौज्दात रहेको संघले जनाएको छ। संघका अनुसार अहिले नेपालमा ६२ वटा औषधि उद्योग छन्।

प्रतिक्रिया दिनुहोस्