बायर्न जर्मन कपको फाइनलमा

काठमाडौं। रोबर्ट लेवन्डस्कीले गरेको निर्णायक गोलमा साविक विजेता बायर्न म्युनिखले गए राती इन्ट्राचट फ्रायङफर्टलाई २-१ ले हराउँदै जर्मन कपको फाइनलमा स्थान बनाएको छ।

थोमस मुलरको पासमा इभान पेरिसिचले १४औं मिनेटमा गरेको गोलमा बायर्नले अग्रता लिएको थियो। सन् २०१८ को विजेता इन्ट्राचटले ६९औं गोलमा मिनेटमा ड्यानी डा कोस्टाले बराबरी गरेको थियो। त्यसको पाँच मिनेट बित्‍न नपाउँदै लेवन्डस्कीले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।

जोशुवा किमिचको पासमा लेवन्डस्कीले गरेको गोललाई शुरूमा अफसाइड दिइएको थियो। तर भिडियो सहायक रेफ्रीले गोलको मान्यता दिएका थिए। पोल्यान्डका फरवार्ड लेवन्डस्कीको यो सिजन ३९ खेलमा ४५औं गोल हो।

बायर्नले अब उपाधिका लागि बायर लेभरकुसेनविरुद्ध खेल्नेछ। फाइनल खेल बर्लिनको ओलम्पिक रंगशालामा ४ जुलाईमा हुनेछ। लेभरकुसेनले चौथो श्रेणीको क्लब साब्ररुकेनलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

बायर्न जर्मन बुन्डेसलिगाको पनि उपाधि नजिक छ। बायर्नले अब दुई खेल जित्‍नेबित्तिकै लिग उपाधि पक्का गर्नेछ। बायर्नले २१ मध्ये २० खेलमा विजय हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्