चितवनको माडी नगरक्षेत्रमा प्रवेश प्रतिबन्धित
भरतपुर। चितवनको माडी नगरपालिकालाई पाँच दिनका लागि सिल गरिएको छ। नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको हिजोको बैठकले आजदेखि लागू हुने गरी नगरलाई नै सिल गर्ने निर्णय गरेको हो।
अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई माडी प्रवेश गर्न र बाहिरिन बन्देज लगाइएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। नगरपालिकामा संक्रमित बढ्न थालेपछि यस्तो निर्णय लिइएको उनले बताए।
माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ।
अत्यावश्यक सेवा प्रदायक संस्था र पसलबाहेक सबै संघसंस्था र पसल पूर्ण रूपमा बन्द गरिएको छ। अत्यावश्यक कामले घरबाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनु पर्नेछ। भौतिक दूरी कायम गर्दै मास्कको अनिवार्य प्रयोग तथा संघसंस्था र पसलमा हात धुने व्यवस्था गर्नुपर्ने नियम पनि लागू गरिएको छ।
प्रतिक्रिया दिनुहोस्