चीनमा औषधिका लागि पनि हुने छैन शालकको शिकार

बेइजिङ। चीनले औषधिका लागि पनि शालकको शिकार गर्न प्रतिबन्ध लगाएको छ।

चिनियाँ परम्परागत औषधिका लागि शालकको प्रयोग हुने गरेको छ। सरकारको पछिल्लो कदमबाट शालकको अनियन्त्रित शिकार रोकिने अपेक्षा गरिएको छ।

कोभिड-१९ को महामारी फैलिएयता चीनले वन्यजन्तुको संरक्षण प्रयास बढाएको छ। खासगरी, शालकको खपटा चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग गरिँदै आएको थियो। र, चिनियाँहरूले मासु स्वादिष्‍ट भएको बताउँदै शालकको शिकार गर्ने गरेका थिए।

चीनमा संसारभरबाट यस स्तनधारी जनावरको तस्करी हुने गरेको छ। सोही कारण यस लजालु वन्यजन्तुका आठवटा प्रजाति लोप हुने जोखिममा छन्।

वन्यजन्तु संरक्षणमा लागेका अभियन्ताहरूले चीन सरकारको पछिल्लो कदमको स्वागत गरेका छन्। ‘सेभ पेंगोलिन’ अभियानका पल थम्सन यसलाई शालकको संरक्षणका लागि एक सुन्दर कदमको संज्ञा दिन्छन्।

“चीन सरकारको यो कदम वन्यजन्तु संरक्षणमा गेम चेन्जर हुन सक्छ,” उनी भन्छन्, “हामीलाई यसैको प्रतीक्षा थियो।” आगामी दिनमा सरकारले आफ्नो नियम कडाइका साथ पालना गर्ने र उपभोक्ताले व्यवहारमा परिवर्तन ल्याउने उनको अपेक्षा छ।

वर्ल्ड एनिमल प्रोटेक्सनका क्याथरिन वाइजले पनि यसलाई एक शानदार समाचार संज्ञा दिए। “चीन सरकारले यसलाई उच्चतमस्तरको सुरक्षित प्रजातिको सूचीमा राखेको थियो, जुन अब हट्यो,” उनी भन्छिन्।

चीनमा अन्य वन्यजन्तुका लागि पनि उक्त नियम लागू हुनुपर्ने उनी बताउँछिन्।

शालकलाई कोरोना भाइरसको वाहक वन्यजन्तु मानिएको छ। वैज्ञानिकहरू यसबारे अध्ययनमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्