फौजी कीरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक
जाजरकाेट। भर्खरै हुर्कंदै गरेको मकैबाली फौजी कीराले काट्दा समस्यामा परेका कृषकका लागि खेतबारीमै औषधिसहित कृषि प्राविधिक खटाइएको छ।

शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि छर्न थालेकाे हाे।

कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरू खुशी भएको शिवालय गाउँपालिका-३ का कृषक लालबहादुर थापाले बताए। गाउँपालिकाभरि फौजी कीराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनकाे भनाइ छ।

अहिले प्राविधिक गाउँ-गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए।

गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ-कहाँ फौजी कीराले मकैको बोट काटेको छ गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए।

फौजी कीरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजी कीरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ। सोही कोषमार्फत् कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, “अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ-गाउँका खेतबारीमा पुग्छौँ।”

गाउँपालिकाभित्र रहेका कृषि जेटीए पढेर बसेका आन्तरिक जनशक्तिलाई दैनिक ५०० रूपैयाँ भत्ता दिएर फौजीकीरा नियन्त्रणका लागि खटाइएकाे उनकाे भनाइ छ।

पहिलो चरणमा दुई लाख ५० हजार रूपैयाँकाे कोष स्थापना गरेर फौजी कीरा नियन्त्रणको काम भएको समेत उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्