भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आज बिहान ७ बजे आईसीयूमा रहेका ६८ वर्षीय संक्रमितको मृत्यु भएको जानकारी दिए।

भरतपुर महानगरपालिका ११ घर भएका ती बिरामीमा हिजो मात्रै कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था जटिल रहेका ती बिरामीको पाँच दिनदेखि नारायणी सामुदायिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। संक्रमण पुष्टि भएपछि उक्त सामुदायिक अस्पतालले उपचार नगर्ने भन्दै भरतपुर अस्पतालतर्फ पठाएको थियो।

“क्रिटिकल अवस्थाका बिरामीलाई यहाँ अहिले नै नल्याएर त्यही आईसीयूमै उपचार हुन दिन हामीले भनेका थियौं,” भरतपुर अस्पतालका प्रमुख डा. तिवारीले भने, “त्यहाँबाट हिजो साँझ ६ बजे यहाँ ल्याएर राखियो। उपचार भइरहेका बेला नै आज बिहान मृत्यु भयो।”

तिवारीले गम्भीर अवस्थाको बिरामीलाई आईसीयूबाट त्यसरी निकालेर ल्याउँदा थप जोखिम भएको हुन सक्ने बताए। मृतक मुटु र दमरोगबाट पनि ग्रसित थिए। उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको छ।

शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । शव व्यवस्थापनका लागि स्थानीय प्रशासन र नेपाली सेनालाई जानकारी गराइसकिएको मेडिकल सुपरिटेन्डेन्ट तिवारीले बताए। नारायणी अस्पतालले आईसीयूबाट बाहिर निकालेर अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालमा ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्