उत्तरकोरियाले बन्द गर्यो दक्षिणसँगको सबै कम्युनिकेसन

सोल। उत्तरकोरियाले दक्षिणसँगका सबै अन्तर कोरियाली कम्युनिकेसन बन्द गरिएको घोषणा गरेको छ। त्यसमा दुई राष्‍ट्रप्रमुखबीचको हटलाइन पनि परेको छ।

यो कारवाहीको पहिलो शृंखला भएको चेतावनी उत्तरकोरियाले दिएको छ। र, दक्षिणकोरियालाई मुख्य शत्रु घोषणा पनि गरेको छ।

दुई मुलुकको सीमास्थित केसङ शहरमा रहेको दैनिक कल सेन्टर पनि आजदेखि बन्द गरिएको छ। उक्त कल सेन्टर सन् २०१८ को द्विपक्षीय संवादपछि स्थापना गरिएको थियो।

प्राविधिक रूपमा दुई कोरिया अझै पनि युद्धमै छन्। सन् १९५३ मा दुई मुलुकबीचको युद्ध समाप्त भए पनि अझै शान्ति सम्झौता हुन सकेको छैन।

बीबीसीका अनुसार उत्तरकोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आज बिहानदेखि दक्षिणकोरियासँगका सबै सम्पर्क विच्छेद भएको जानकारी दिएको हो। दुई मुलुकबीचको सैन्य सञ्‍चार पनि विच्छेद हुने केसीएनएले जनाएको छ।

“दक्षिणकोरियाली अधिकारीहरूसँग कुनै संवाद गरिरहन जरुरी देखिएन। किनकि। उनीहरूले हामीलाई सधैं भयभित बनाउने चेष्‍टा गरिरहे,” केसीएनएले लेखेको छ।

उत्तरकोरियाली नेता किम जोङ-उनकी बहिनी किम यो-जोङले गत साता दक्षिणले उत्तरमा रक्षासम्बन्धी लिफलेटहरू पठाएर शत्रुतापूर्ण कार्य गरेको बताएकी थिइन्। र, सन् २०१८ मा सम्पन्न पान्मुनजोम शिखर सम्मेलनका क्रममा गरिउको शान्ति सम्झौता पनि दक्षिणले उल्लंघन गरेको आरोप लगाएकी छन्।

प्रतिक्रिया दिनुहोस्