के चीनमा पहिले नै शुरु भएको थियो कोरोना भाइरसको प्रकोप ?

वासिङ्टन। कोरोना भाइरस संक्रमणको शुरुवात डिसेम्बर २०१९ मा चीनको वुहान शहरमा भएको थियो।

६ महिनाभित्रमा यसको प्रकोप सबैजसो मुलुकमा फैलिइसकेको छ। ७० लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन् भने चार लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकालगायत मुलुकले कोरोना भाइरसका बारेमा चीनको भूमिकालाई लिएर सन्देह व्यक्त गर्दै आएका छन्। चीनले यस भाइरसको मामिलामा पारदर्शिता नअपनाएको आरोप अमेरिकाले लगाउँदै आएको छ। चीनले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।

तर, अहिले भइरहेका अध्ययनले पनि अमेरिकी दाबीलाई बल पुर्‍याउने तथ्य सार्वजनिक गरिरहेका छन्।

बीबीसीका अनुसार हार्वर्ड मेडिकल स्कुलको एक शोधमा चीनमा कोरोना भाइरसको प्रकोप त्यसअघि नै शुरु भइसकेको दाबी गरिएको छ।

कमर्सियल स्याटेलाइट इमेजरीको सहायताबाट वुहान शहरका केही तस्वीरको अध्ययन गरिएको छ। ती तस्वीर अगस्ट २०१९ का हुन्, जसमा अस्पतालको बाहिरपट्टि ठूलो संख्यामा सवारी साधनको ताँती देखिन्छ।

शोधकर्ताहरूले वुहान शहरका पाँच ठूला अस्पतालको बाहिरपट्टि आश्‍चर्यजनक हिसाबबाट सवारी साधनको भीड देखिएको बताएका छन्। “हुन सक्छ, मानिसलाई मौसम परिवर्तनका कारण खोकी, ज्वरो, झाडापखालाजस्ता समस्या देखिएको होस्, जो कोभिड-१९ का सामान्य लक्षण हुन्,” शोधकर्ताहरूले भनेका छन्।

डा. जोन ब्राउनस्टेनले यस अध्ययनको नेतृत्व गरिरहेका छन्। र, उनले यो नयाँ तथ्य कोरोना भाइरसलाई सम्झिन महत्वपूर्ण हुने बताएका छन्। “खासमा चीनमा अक्टोबरमै केही भइरहेको थियो,” उनले भने, “कोरोना भाइरसको महामारीको शुरुवात मान्‍नुअघि केही सामाजिक व्यवधान त पक्कै थियो।”

डिसेम्बर २०१९ मा चीनले विश्‍व स्वास्थ्य संगठनलाई कुनै अज्ञात कारणबाट हुने निमोनिया देखिएको जानकारी दिएको थियो। त्यसको नौ दिनपछि त्यस्तो निमोनियाको कारण कोरोना भाइरसको प्रकोप रहेको निष्कर्ष चीनले दिएको थियो।

प्रतिक्रिया दिनुहोस्