दशक लामो प्रयासपछि चट्टानी पहाडमा फेला पर्यो १० लाख डलरको खजाना

न्यु मेक्सिको। अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक चट्टानी पहाडमा १० लाख डलर मूल्य बराबरका बहुमूल्य सामग्री फेला परेका छन्।

प्राचीन कालका सामानका संकलक फरेस्ट फेनले एक दशकअघि ती सामग्री चट्टानी पहाडमा लगेर लुकाएका थिए। धेरै मानिसले ती सामग्री खोजी गर्न आफूलाई समर्पित गरे। त्यसक्रममा धेरैले जागिर छाडिदिए, चारजनाले त ज्यान पनि गुमाए।

फेनका अनुसार बैंक इस्टका एक व्यक्तिले ती सामग्री पत्ता लगाएका छन्। ८९ वर्षीय फेन न्यु मेक्सिकोका करोडपति हुन्। “मैले १० वर्षअघि ती सामग्री जहाँ लुकाएको थिएँ, त्यहाँबाट एक पाइला तलमाथि भएका थिएनन्,” उनले आफ्नो बेवसाइटमा लेखेका छन्।

बीबीसीका अनुसार आफ्नो आत्मकथा ‘द थ्रिल अफ चेन्ज’मा २४ लाइन कविताका आधारमा ती व्यक्ति खजाना भएको स्थानमा पुगेको उनले बताएका छन्।

खजाना पत्ता लगाउने व्यक्तिको नाम उनले सार्वजनिक गरेका छैनन्। तर, ती व्यक्तिले त्यो खजानाको तस्वीर पठाएर आफूले फेला पारेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्