धनगढीमा कोभिड-१९ बाट मृत्यु भएकी महिलाको टोल 'सिल', मलामीद्वारा आफूहरूको स्वाब परीक्षण गर्न माग

कैलाली। धनगढी उपमहानगरपालिका-४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोभिड-१९ पुष्टि भएपछि उनी बस्ने महिमा टोल हिजो साँझदेखि प्रहरीले 'सिल' गरेको छ।

प्रहरीको टोली हिजो त्यस क्षेत्रमा गएर माइकिङ गरी 'सिल' गरिएको जानकारी गराएको थियो।

प्रहरी नआएको र चहलपहल पूर्ववत हुन थालेपछि ती महिलाको अन्तिम संस्कारमा मलामी गएकाहरूले नै तुलसी चोकमा बोर्ड नै राखेर आवागमन अवरुद्ध गरेका छन् ।

पुरै टोल 'सिल' गरिएपछि स्थानीय बासिन्दा त्रसित छन्। उनीहरू घरबाट निस्किन डराईरहेका छन्। पसलहरू बन्द छन्।

दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिसका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो।

मृत्युपछि स्वाव संकलन गरिएकी ती महिलाको त्यसैदिन अन्त्येष्टि गरियो। र, हिजो मात्र उनमा कोरोना संक्रमण पुष्‍टि भएको थियो।

संक्रमणको पुष्टि भएपछि मलामी गएका र शव बोक्ने व्यक्तिहरू आतंकित भएको स्थानीय विजय चौधरीले बताए।

मलामी गएका व्यक्तिहरुले जतिसक्दो चाँडो आफूहरूको कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्