भारतबाट आएर क्वारेन्टाइनमा बसेका डोटीका एक युवकको मृत्यु

कैलाली। पाँचदिन अघि भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका डोटीको केआईसिंह गाउँपालिकाका एक युवकको आज बिहान मृत्यु भएको छ।

गाउँपालिकाले वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि क्वारेन्टाइनमा नै ती युवकको मृत्यु भएको जानकारी दिए।

“मृत्यु के कसरी भयो अहिले नै यकिन भन्‍न सकिन्न”, उनले देखापढीसँग टेलिफोनमा भने, “थ्रोट स्वाबको नमूना संकलन गर्न मसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाँदैछौं।”

उनले मृतकको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाइने जानकारी दिए।

त्यस्तै मृतकको सम्पर्कमा आएका व्यक्तिहरुको पनि नमुना परीक्षणका लागि पठाइने छ।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले मृतक युवक लामो समयदेखि मुटु रोगी रहेको बताए।

मृतकका बुवासमेत छोराको हेरचाहका लागि सोही क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्