मास्क नलगाई कपाल काटेकामा जरिवाना गर्नु ‘पूर्ण मजाक’

काठमाडौं। बोरुसिया डर्टमण्डका जाडोन सान्चोले घरमा मास्क नलगाई कपाल काटेको तस्वीर हेरेर जर्मन फुटबल लिगले जरिवाना गर्नु ‘पूर्ण मजाक’ भएको बताएका छन्।

इङ्ल्यान्डका फरवार्ड सान्चोसँगै उनका सहयात्री म्यानुयल अकान्जीलाई पनि नियम उल्लंघन गरेकामा जरिवाना गरिएको छ।

जर्मन फुटबल लिगले दुवै खेलाडीले ‘स्वच्छता र संक्रमण सुरक्षा’को नियम उल्लंघन गरेको जनाएको छ। सान्चोले उक्त निर्णयको ट्विटरमा विरोध गरेका थिए। उनले पछि उक्त ट्विट मेटाएका थिए।

डर्टमण्डले आफ्नो खेलाडीको रक्षा गरेको छ। डर्टमण्डले खेलाडीले बुन्डेसलिगाको स्वास्थ्य सुरक्षा नियम उल्लंघन नगरेको जनाएको छ।

जर्मनीमा गत मेदेखि हेयर सैलुन खुलेका छन्। तर, ग्राहक र हजाम दुवैले मास्क लगाउनु अनिवार्य छ। जर्मनीको एक पत्रिकाले शुक्रबार सान्चोले मास्क नलगाई कपाल काटेको तस्वीर प्रकाशित गरेको थियो।

बिहीबार नै डर्टमण्डका खेलकुद निर्देशक माइकल जोर्कले ६ खेलाडीको समूहमा कसैले पनि सुरक्षा निर्देशिका उल्लंघन नगरेको बताएका थिए। ती खेलाडीले तस्वीरका लागि मात्र मास्क खोलेको जोर्कले बताएका छन्।

तर जर्मन फुटबल लिगले सान्चो र अकान्जीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रयोग नगरेको भन्दै कारवाही गरेको छ।

‘‘व्यवसायिक फुटबलरहरूले पनि कपाल काट्नुपर्छ भन्‍नेमा कुनै प्रश्‍न भएन तर उनीहरूले मेडिकल संघले जारी गरेको अवधारणालाई पालना गर्नुपर्छ,’’ जर्मन फुटबल लिगले भनेको छ।

प्रतिक्रिया दिनुहोस्