वेर्नरसँगको सम्झौतापछि चेल्सीको आँखा चिलवेलमाथि

काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगबाट ५ करोड ४० लाख पाउण्डमा फरवार्ड टिमो वेर्नरसँगको सम्झौता पक्का गरेको चेल्सी अब लेस्टर सिटीका लेफ्ट ब्याक बेन चिलवेललाई अनुबन्ध गर्न लागिपरेको छ।

२४ वर्षे वेर्नरका लागि प्रिमियर लिगका प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर युनाइटेडले रकम खर्च गर्न कन्जुस्याईं गरेपछि चेल्सीले बाजी मारेको हो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्ड र रक्षक एन्टिनियो रूडिगर दुवैले वेर्नर स्टामफोर्ड ब्रिज आउन सहमत भएको जनाइसकेका थिए भने वेर्नरका एजेन्टले पनि लाइपजिगसँग चेल्सी जर्मन फरवार्डलाई भित्र्याउन इच्छुक रहेको जनाकारी दिएका थिए।

चेल्सीले फेब्रुअरीमा आयाक्सबाट हाकिम जियाचलाई अनुबन्ध गरिसकेको छ। जियाचका लागि चेल्सीले ३ करोड ७० लाख पाउण्ड खर्च गरेको थियो। जियाच र वेर्नरका लागि ९ करोड १० लाख पाउण्ड खार्च गरिसकेको चेल्सीले अब चिलवेलमाथि आँखा लागाएको छ।

‘रिलिज क्लज’ नहुने भएका कारण वेर्नर र जियाचसँग जस्तो चिलवेलसँग सम्झौता गर्न चेल्सीलाई सहज हुने छैन। त्यसकारण चेल्सीले उनलाई अर्को सिजन स्टामफोर्ड ब्रिज भित्र्याउन ठूलै मिहिनेत गर्नुपर्नेछ।

प्रिमियर लिगको सिजन अन्त्यमा क्लबहरूको स्थानले पनि खेलाडीको सम्झौतामा असर गर्न सक्छ। लेस्टर चेल्सीभन्दा पाँच अंक अगाडि रहेर तेस्रो स्थानमा छ। चेल्सी ४८ अंकका साथ चौथो स्थानमा छ। लेस्टरले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढी भएका कारण पनि चिलवेललाई भित्र्याउन चेल्सीलाई कठिन हुने सम्भावना छ।

चिलवेलसँगै चेल्सीले आफ्नै एकेडेमीका रक्षक नाथन एकेमाथि पनि आँखा लगाएको छ। चेल्सीले २०१७ मा एकेलाई ४ करोडको बाइब्याक क्लजसहित २ करोड पाउण्डमा बर्नमाउथलाई बेचेको थियो। बर्नमाउथ रेलिगेशन क्षेत्रमा छ। सिजनको अन्त्यमा बर्नमाउथ रेलिगेशनमा पर्यो भने चेल्सीलाई एके भित्राउन अझै सहज हुनसक्छ। तर चेल्सीको प्राथमिकता चिलवेलमै छ।

प्रतिक्रिया दिनुहोस्