महामारीविरुद्ध लडिरहेका तीन तहका सरकार, आपसमै छैन समन्वय

काठमाडौं। बाँकेको नरैनापुरस्थित क्‍वारेन्टाइनमा बसेका युवक विरामी परेपछि स्वास्थ्य संस्था लैजान आवश्यक पर्ने एम्बुलेन्स व्यवस्था गर्न अढाइ घण्टा लाग्यो। क्‍वारेन्टाइन नरैनापुर गाउँपालिकाले निर्माण गरेको थियो। त्यसको सुरक्षाको जिम्मा जिल्ला प्रशासन कार्यालयले लिएको थियो भने स्वास्थ्यकर्मीको व्यवस्था जनस्वास्थ्य कार्यालयले गरेको थियो। तर, एम्बुलेन्सको व्यवस्था कसले गर्ने भन्‍नेमा विवाद भयो। त्यही विवादका कारण एम्बुलेन्स अढाइ घण्टा ढिलो पुग्यो। बिरामीले अस्पताल नपुग्दै ४ जेठमा ज्यान गुमाए।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह संघीय सरकार र प्रदेश सरकार दुवैले स्थानीय तहलाई जिम्मेवारी थोपर्दा समस्या भइरहेको बताउँछन्।

“प्रदेश सरकारले पनि सबै काम स्थानीय तहले नै गर्नुपर्छ भन्दै आफू पन्छिन खोज्छ। केन्द्र सरकार पनि सबै अधिकार तपाईंहरूलाई दिएका छौं भन्छन्। तर, न अधिकार छ, न स्रोत-साधन अनि कसरी काम गर्ने?” अध्यक्ष शाह गुनासो गर्छन्, “एक अर्काबीच तालमेल नै हुन सकिरहेको छैन। जसले गर्दा स-साना कमीकमजोरीले समस्या भइरहेको छ।”

“प्रदेश सरकारले पनि सबै काम स्थानीय तहले नै गर्नुपर्छ भन्दै आफू पन्छिन खोज्छ। केन्द्र सरकार पनि सबै अधिकार तपाईंहरूलाई दिएका छौं भन्छन्। तर, न अधिकार छ, न स्रोत-साधन अनि कसरी काम गर्ने?” बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह गुनासो गर्छन्, “एक अर्काबीच तालमेल नै हुन सकिरहेको छैन। जसले गर्दा स-साना कमीकमजोरीले समस्या भइरहेको छ।”

यस्तै, कपिलवस्तुको कृष्‍णनगर नगरपालिकाले तयार गरेका विभिन्‍न क्‍वारेन्टाइनमा रहेका कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा लैजानुपर्ने भयो। आइसोलेसन वार्ड लक्ष्‍मीनगरको मदरसामा बनाइएको थियो। कुनै पनि एम्बुलेन्स उनीहरूलाई लैजान तयार भएनन्। नगरपालिका र स्वास्थ्य संस्थाबीच एम्बुलेन्स कसले व्यवस्थापन गर्ने भन्‍नेमै मतो मिलेन।

कतैबाट सहयोग नपाएपछि इलाका प्रहरी कार्यालय कृष्‍णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले १९ जेठमा २२ जना कोरोना संक्रमितलाई पिकअप भ्यानमा राखेर आइसोलेसन वार्डमा पुर्‍याए। ६ वटा क्‍वारेन्टाइनमा रहेका संक्रमितलाई आइसोलेसन वार्डमा लैजान उनलाई ६ घण्टा लागेको थियो।

“कोही तयार नभएपछि म आफैंले जोखिम मोलेर उनीहरूलाई आइसोलेसन वार्डमा लिएर गएँ। सबैले यो त मेरो जिम्मेवारी होइन भन्दै पन्छिन खोजे,” प्रहरी निरीक्षक पौडेल भन्छन्।

कालीकोट सरदमुकाम मान्ममा रहेको क्‍वारेन्टाइनको अवस्था भद्रगोल छ। क्‍वारेन्टाइनमा राखिएकाले स्वच्छ पानी पिउन पाइरहेका छैनन्। न अन्य व्यवस्थापन नै गतिलो छ। क्‍वारेन्टाइनमा बसेकाहरूले जिल्ला प्रशासन, जनस्वास्थ्य कार्यालय, नगरपालिकालगायत सबै निकायलाई उचित व्यवस्थापनका लागि पटक-पटक आग्रह गरे। तर, कसैले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ।

“यहाँको व्यवस्थापन राम्रो छैन। पानी छैन, बस्‍ने व्यवस्था उचित छैन। त्यसको व्यवस्था गरिदिनुहोस् भन्दा नगरपालिकालाई भन्‍नुहोस् भन्छन्। नगरपालिकालाई भन्दा हामीले के गर्ने भन्दै पन्छिन खोज्छन्,” क्‍वारेन्टाइनमा बसेका एक जनाले गुनासो पोखे।

प्रमुख जिल्ला अधिकारी कृष्‍णचन्द्र पौडेलले आवश्यक व्यवस्थापन गर्ने आश्वासन दिएका छन्। तर, उनले आश्वासन दिएको पनि चार दिनभन्दा बढी भइसक्यो। नगरपालिकालाई भनेर आवश्यक व्यवस्था मिलाइने प्रजिअ पौडेलले बताए।

यस्तै, बाजुराको आइसोलेसन वार्डमा काम गरिरहेका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा काम गर्नुपरिरहेको छ। विभिन्‍न निकायहरूले एक अर्कोको दायित्व भन्दै पन्छिँदा अत्यावश्यक स्वास्थ्य सामग्री पनि ल्याउन नसकिएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी निमेश बोहरा बताउँछन्।

“अस्पताललाई भन्दा बजेट छैन भन्दै पन्छिन्छ। नगरपालिकालाई भन्दा यसको काम त अस्पताल आफैंले गर्ने हो भनेर पन्छिन खोज्छन्। यस्तो अवस्थामा काम गर्न निकै गाह्रो छ,” उनी भन्छन्।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच एकआपसमा र उनीहरूको अन्य निकायसँग आवश्यक समन्वय नभएकाले कोभिड-१९ महामारी नियन्त्रणमा समस्या बढ्दै गएको छ। महामारीसँग सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा एकअर्कालाई दोषारोपण हुन थालेको गुनासो आएपछि राष्‍ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले त सात वटै प्रदेशका उपसभामुखहरूसँग अनलाइन संवाद गरिन्।

उक्त संवादमा वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले संघीय सरकारले बनाएको कार्यविधिअनुसार तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताएकी थिइन्। सबै तहले आ-आफ्नो तरिकाले काम गरिरहेको उनको गुनासो थियो।

जनस्वास्थ्यविद् डा. शरद वन्त पनि काम गर्ने क्रममा समन्वयको अभाव देखिएको बताउँछन्।

“विभिन्‍न घटनाहरूबाट समन्वयको अभाव देखियो। यसरी त महामारी नियन्त्रणभन्दा पनि विभिन्‍न तहका सरकारबीच नै द्वन्द्व सिर्जना हुन्छ,” डा. वन्त भन्छन्, “यो समस्या हटाउन प्रमुख जिल्ला अधिकारीले पहल चाल्नुपर्छ। त्यसमा जिल्ला समन्वय समितिलाई पनि जोड्नुपर्ने हुन्छ।”

“विभिन्‍न घटनाहरूबाट समन्वयको अभाव देखियो। यसरी त महामारी नियन्त्रणभन्दा पनि विभिन्‍न तहका सरकारबीच नै द्वन्द्व सिर्जना हुन्छ,” जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, “यो समस्या हटाउन प्रमुख जिल्ला अधिकारीले पहल चाल्नुपर्छ। त्यसमा जिल्ला समन्वय समितिलाई पनि जोड्नुपर्ने हुन्छ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भने काम गर्दै जाँदा कहीँ न कहीँ कमजोरी अवश्य हुने भन्दै त्यसलाई समाधान गर्दै जाने बताउँछन्।

“काम गर्ने क्रममा कुनै कुनै ठाउँमा समन्वयको अभाव नै देखिन्छ। हामी सबैले आफ्नो जिम्मेवारी हो भन्दै अगाडि बढ्नुपर्छ,” उनी भन्छन्, “अहिले बाँकेमा सबै तह, प्रदेश र संघीय सरकारबीच जति सकिन्छ समन्वय गरेर अगाडि बढ्ने प्रयास गरिरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्