चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं। नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष दयाराम दाहाल नियुक्त भएका छन्। चलचित्र निर्देशक, गीतकार तथा निर्माता दाहाललाई २२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो।

तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि विगत ६ महीनादेखि बोर्डको अध्यक्ष पद रिक्त थियो। दाहाल हाल बोर्डको सदस्य थिए ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्ड अध्यक्षका लागि आवेदन मागेको थियो। जसमा १० जनाले आवेदन दिएका थिए। तीमध्ये अभिनेता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा र दाहालको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो।

नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रका समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले अगाडि बढ्ने बताए। लामो समयदेखि चलचित्र क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने उनले देखापढीसँग बताए।

"चलचित्र उद्योगलाई कसरी राम्रोसँग अगाडि बढाउने भनेर सबै सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्छौं," दाहालले भने।

२०४५ सालमा निर्मित फिल्म ‘लाहुरे’को पोस्ट प्रोडक्सनमार्फत् चलचित्र क्षेत्रमा भित्रिएका दाहाल ‘दाइजो’मार्फत चलचित्र निर्देशक बनेका थिए। हालसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन्।

उनको पछिल्लो चलचित्र ‘रानी’ हो भने प्रदर्शनको पखाईमा ‘लैबरी लै’ छ। उनले ‘दौँतरी’, ‘ठूल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमीविना मरिहाल्छु’, ‘दैव’लगायत चलचित्र निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्