नर्सहरू भन्छन्- पीपीईमा काम गर्नु प्लास्टिकमा प्याक भएजस्तो

नयाँदिल्ली । कोरोना भाइरसको प्रसार बढ्दै जाँदा संसारभर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को माग ह्वात्तै बढ्यो । अहिले त्यही पीपीई नर्सहरूका लागि हैरानीको विषय बनेको छ ।

“पीपीई लगाएर काम गर्नु भनेको पोलिथिन ब्यागमा प्याक हुनुजस्तै हो,” नयाँदिल्लीस्थित एम्स अस्पतालकी एक नर्स भन्छिन्, “न त केही खान सकिन्छ, न बाथरुम जान सकिन्छ । इन्फेक्सनको जोखिम अलग्गै छ ।”

बीबीसीका अनुसार उनीहरूले आफ्नो अस्पताल प्रशासनलाई अवगत गराए । कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका छन् । एम्स नर्सेस युनियनले १ जुनदेखि विरोध प्रदर्शन गरिरहेको छ ।

लामो समय पीपीई लगाउँदा अनेकौं स्वास्थ्य समस्या आएकाले यसको विकल्प खोज्‍नुपर्ने उनीहरूको माग छ । पीपीई लगाउनैपर्ने भए दैनिक ड्युटी चार घण्टामा सीमित गर्न उनीहरूले माग गरेका छन् ।

खासगरी, महीनावारीको समयमा पीपीई सेट हैरानीको कारक बनेको एम्सको कोभिड-१९ आईसीयू इन्चार्ज रञ्‍जना बताउँछिन् । उनका अनुसार पीपीईका कारण यूटीआई, एलर्जीलगायत समस्या देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्