लकडाउनले उकुसमुकुस खेल क्षेत्र, अब त खोले हुने हो !

काठमाडौं। “खेल नभएका कारण आम्दानी छैन। क्लबले पनि पछिल्लो दुई महिनाको पैसा नदिने भनेको छ। त्यसैले अहिले आर्थिक रूपमा कठिन अवस्थामा छु। ऋण लिएको पनि तिर्न सकेको छैन। घर चलाउनै गाह्रो भइसक्यो,” केही दिनअघि शीर्ष डिभिजन लिगको क्लब मनाङ मर्स्याङ्दीका एक खेलाडीले यसो भनेका थिए।

उनी मात्र होइन, अरू धेरै खेलाडी अहिले फुर्सदमा छन्। खेलबाहेक आम्दानीको अरू स्रोत नभएका उनीहरूले अहिले आर्थिक रूपमा कठिनाइ भोग्‍नु परिरहेको छ। फुटबलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग समाप्त भएपछि क्बलहरू मोफसलका प्रतियोगिताहरूमा व्यस्त भएका थिए। त्यसैबीच कोभिड-१९ महामारीका कारण ४ चैतदेखि खेलकुद प्रतियोगिताहरू स्थगित गरिए। त्यसपछि फुर्सदमा भएका खेलाडीहरू कहिले खेल क्षेत्र लयमा फर्केला र मैदानमा फर्किन पाइएला भनेर प्रतीक्षा गरिरहेछन्। सरकारले भने ३२ जेठसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ।

“सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्दै सामान्य जीवन शुरू गर्न सकिन्छ भन्‍ने सन्देश प्रवाह गर्नका लागि खेलकुद सबैभन्दा बलियो माध्यम हो। त्यसकारण पनि विस्तारै खेलकुद गतिविधि शुरू गर्नुपर्छ।” - जीवनराम श्रेष्‍ठ, अध्यक्ष नेपाल ओलम्पिक कमिटी

“संक्रमण मुक्त नहुन्जेल लकडाउन हुन्छ,” उच्चस्तरीय समन्वय समितिका सचिव नारायणप्रसाद बिडारी भन्छन्। उनले लकडाउनको स्वरूप भने परिवर्तन हुने बताए। तर, कस्तो स्वरूप अपनाइन्छ अझै टुंगो लागेको छैन।

संक्रमण रोक्ने लकडाउन एक उचित विकल्प भए पनि यसले जीवीकाका सबै क्षेत्रमा असर पुर्‍याउन थालेपछि यसको विकल्प खोजी हुन थालेको छ। सामाजिक सञ्‍जालमा मात्र होइन, सडकमा पनि लकडाउनको विरोध हुन थालेको छ। यस्तो अवस्थामा खेलकुद गतिविधि पनि पुनः शुरु गर्नुपर्ने माग उठ्न थालेको छ।

अन्य देशमा खुल्न थाल्यो खेल क्षेत्र

खेलकुद क्षेत्रलाई निरन्तरता दिन अन्य देशमा अभ्यास शुरु भइसकेको छ। कोभिड-१९ बाट बढी प्रभावित हुने देशमध्ये एक बेलायतमा १९ जेठ (१ जुन) बाट सम्पूर्ण खेलकुद गतिविधि खुला गर्न सरकारले अुनमति दिएको छ। मार्चको मध्यबाट स्थगित इङ्ल्यान्डका शीर्ष श्रेणीका लिगहरू पनि १७ जुनदेखि शुरू हुने भएका छन्। त्यस्तै, इटलीमा पनि २० मार्चदेखि इटालियन सिरी ‘ए’ सञ्‍चालन गर्ने निर्णय गरिएको छ।

“प्रतियोगिता नै नभए पनि स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्दै प्रशिक्षण कार्यक्रम शुरू गर्नुपर्छ। पहिले एकल स्पर्धाका खेलहरू अनि विस्तारै सामूहिक खेलहरूको प्रशिक्षण शुरू गर्ने, त्यसपछि प्रतियोगिता सञ्‍चालन गर्ने गर्नुपर्छ।” - निरञ्‍जन राजवंशी, कोषाध्यक्ष, एआईपीएस, एसिया

कोभिड-१९ महामारीका कारण युरोपका बेल्जियम, नेदरल्यान्ड्स, फ्रान्सजस्ता मुलुकले शीर्ष श्रेणीका लिगहरू बीचमै रद्द गरिदिएपछि खेल क्षेत्रमा अन्योल बढेको थियो। तर, तुलनात्मक रूपमा कम असर परेको जर्मनीमा बुन्डेसलिगा र बुन्डेसलिगा टु शुरू गर्ने अनुमति पाएपछि खेल क्षेत्रमा आशा पलाएको छ।

रंगशाला तथा मैदानमा पनि भौतिक दूरी तथा स्वास्थ्य सुरक्षाका विधिको कडा पालना गर्नुपर्ने शर्तसहित जर्मन सरकारले त्यहाँको शीर्ष डिभिजन लिगहरू सञ्‍चालन गर्न दिएपछि शुरूमा मिश्रित प्रतिक्रिया आएका थिए। शुरूमा फुटबलका समर्थकहरूले पनि लिग शुरू गर्ने निर्णयको विरोध गरेका थिए। तर, त्यहाँ सफल प्रयोग भएपछि विरोध गर्नेहरूको आवाज मत्थर हुँदै गएको छ।

युरोपमा मात्र होइन, एसियामै पनि बढी प्रभावित हुनेमध्येको एक दक्षिण कोरियामा फुटबल लिग शुरू भइसकेको छ। छिमेकी भारतमै पनि रंगशाला तथा स्पोर्ट्स कम्प्लेक्स खुला गर्ने निर्णय गरिएको छ। सरकारले दर्शक प्रवेशमा रोक लगाए पनि रंगशाला खुला गरेपछि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) शुरु गर्नेबारे छलफल थालिएको छ।

नेपालमा छलफल शुरु

विश्‍वभर खेलकुद गतिविधि शुरू हुने क्रम बढेसँगै नेपालमा पनि यसको बहस शुरू भएको छ। तथापि, यसले ठोस स्वरूप ग्रहण गरिसकेको छैन।

“कम्तिमा ओलम्पिक छनोटका लागि तयारी गरिरहेकाहरूलाई प्रशिक्षणमा राख्‍न सकिन्छ। स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाएर ती खेलाडीलाई प्रशिक्षणमा राख्‍न सकियो भने पनि धेरै आशा पलाउँथ्यो।” - दीपक श्रेष्‍ठ, अध्यक्ष, राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय खेलाडी संघ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्‍ठ कोरोना भाइरस संक्रमणको त्रासबाट परेको मनोवैज्ञानिक असर कम गर्न पनि खेलकुद गतिविधि सञ्‍चालन गर्नुपर्ने बताउँछन्।

“दुई महीनाभन्दा बढी भइसकेको छ। खेलकुद मात्र होइन, सम्पूर्ण आर्थिक गतिविधि पनि रोकिएको छ। त्यसैले रोगबाट भन्दा पनि भोकबाट मर्नुपर्ने हो कि भन्‍ने चिन्ता सबैतिर हुन थालेको छ। मानिसमा मनोवैज्ञानिक असर देखिन थालेका छन्। आत्महत्या गर्ने तथा घरेलु हिंसाका घटना आउन थालेका छन्। त्यसैले अब विस्तारै आर्थिक गतिविधिहरू सञ्‍चालन गर्नुपर्छ,” अध्यक्ष श्रेष्‍ठ भन्छन्, “सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्दै सामान्य जीवन शुरू गर्न सकिन्छ भन्‍ने सन्देश प्रवाह गर्नका लागि खेलकुद सबैभन्दा बलियो माध्यम हो। त्यसकारण पनि विस्तारै खेलकुद गतिविधि शुरू गर्र्नुपर्छ।”

प्रतिनिधिसभा सदस्यसमेत रहेका श्रेष्‍ठले संक्रमितको संख्या बढ्दो क्रममा रहे पनि सबै जिल्लामा एकै खालको अवस्था नरहेको बताए। उनले विश्‍वमा धेरै प्रभावित भनिएका देशहरू पनि सामान्य अवस्थामा फर्किएको उदाहरण दिँदै कम्तिमा पनि पदकधारी खेलाडीहरूलाई प्रशिक्षण शुरू गर्न अब ढिलाइ गर्न नहुने बताए।

“हामीले जोखिम कम भएका खेल तथा जिल्लाहरूबाट खेलकुद गतिविधि शुरू गर्न पहल गरेका थियौं। छलफल थालेका थियौं। त्यसैबीच सरकारको अर्को खालको निर्णय आयो र हामी निष्‍कर्षमा पुग्‍न सकेनौं” - रमेशकुमार सिलवाल, सदस्यसचिव, राष्‍ट्रिय खेलकुद परिषद्

“अहिले सामान्य अवस्थामा जस्तो सर्वसाधारणका लागि पनि खेलकुद गतिविधि शुरू गर्ने सोच्नु हुँदैन। तर दक्षिण एशियाली खेलकुदमा पदक जित्ने खेलाडीहरूलाई भने अब प्रशिक्षणमा फर्काउनुपर्छ। निरन्तर अभ्यास नहुने हो भने खेलाडीले प्रगति गर्न सक्दैनन्,” राष्‍ट्रिय खेलकुद परिषदका सदस्यसचिव समेत भइसकेका अध्यक्ष श्रेष्‍ठ थप्छन्, “कुन मोडलमा शुरू गर्ने भन्‍ने कुरा विज्ञहरूसँग छलफल गर्न सकिन्छ। तर, स्वास्थ्य निर्देशिका अपनाउँदै परिक्षणमा नेगेटिभ देखिएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्‍न सकिन्छ। सर्वसाधारणमा फैलिएको मानसिक आतंकलाई कम गर्नका लागि पनि कम्तिमा पदक जित्ने खेलाडीहरूलाई प्रशिक्षण शुरू गर्न अब विलम्ब गर्न हुँदैन।”

नेपाली खेलकुदमा कलम चलाउँदै आएका इन्टरनेशनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआईपीएस) एशियाका कोषाध्यक्ष निरञ्‍जन राजवंशी पनि खेलकुद क्षेत्रलाई बिस्तारै सामान्यीकरणतर्फ लैजानुपर्ने मत राख्छन्।

“खेलकुद क्षेत्रलाई अब विस्तारै समान्यीकरणतर्फ लैजानुपर्ने भएको छ। लकडाउनका कारण यस बीचमा खेलक्षेत्रले ठूलो क्षति ब्यहोरिसकेको छ। अब क्षति कम गर्नेतर्फ लाग्‍नुपर्छ,” राजवंशी भन्छन्, “प्रतियोगिता नै नभए पनि स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्दै प्रशिक्षण कार्यक्रम शुरू गर्नुपर्छ। पहिले एकल स्पर्धाका खेलहरू अनि विस्तारै सामूहिक खेलहरूको प्रशिक्षण शुरू गर्ने, त्यसपछि प्रतियोगिता सञ्‍चालन गर्ने गर्नुपर्छ। पहिला ब्याडमिन्टन, टेबलटेनिसजस्ता खेलहरूको प्रतियोगिता शुरू गर्न सकिन्छ। त्यसपछि फुटबलजस्ता सामूहिक खेल शुरू गर्नुपर्छ।”

राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्‍ठ पनि कम्तीमा ओलम्पिकका लागि तयारी गरिरहेका १२ खेलाडीलाई प्रशिक्षण गराएर भए पनि विस्तारै खेलकुद गतिविधि बढाउनुपर्नेमा जोड दिन्छन्।

ओलम्पिकमा ‘वाइल्ड कार्ड’का लागि नेपालले १२ खेलाडीको नाम सिफारिस गरेको छ। अनिवार्य सहभागी हुनुपर्ने पौडीमा महिलातर्फ गौरिका सिंह र पुरुषमा एलेक्स गाडेगार्ड शाहको नाम नेपालले आईओसीमा पठाइसकेको छ। गत मेदेखि १२ खेलाडीले ‘ओलम्पिक छात्रवृत्ति टोकियो २०२०’ पाइरहेका छन्। छात्रवृत्तिमा नरहेका जुडोकी सोनिया भट्ट र बक्सिङकी मिनु गुरूङ पनि वाइल्ड कार्ड सिफारिसमा छन्।

यी चारबाहेक वाइल्ड कार्ड सिफारिसमा अनु अधिकारी, नवीन रसाइली, ज्ञानु अवाले, तिलक पुन मगर, बीरबहादुर महरा, सुस्मिता नेपाल, कल्पना परियार, कमला श्रेष्‍ठ, सञ्‍जु चौधरी, इन्द्रबहादुर श्रेष्‍ठ छन्। वाइल्ड कार्ड सिफारिसमा पर्ने प्रायः सबै एक स्पर्धाका खेलाडी छन्।

“अब एकल प्रतिस्पर्धाहरूबाट खेल शुरू गर्नुपर्छ भनेर एक चरणको छलफल भएको थियो। अब सँधै यसरी राख्नुहुँदैन,” दीपक श्रेष्‍ठ भन्छन्, “कम्तीमा ओलम्पिक छनोटका लागि तयारी गरिरहेकाहरूलाई प्रशिक्षणमा राख्‍न सकिन्छ। स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाएर ती खेलाडीलाई प्रशिक्षणमा राख्‍न सकियो भने पनि धेरै आशा पलाउँथ्यो।”

किन खुलिरहेको छैन खेल क्षेत्र ?

राष्‍ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद गतिविधि सञ्‍चालनका लागि पहल गरिरहेकै अवस्थामा संक्रमितको संख्या बढ्नुका साथै सरकारले लकडाउनमा कडाई गर्ने भएपछि ठोस निष्‍कर्षमा पुग्‍न नसकेको बताए।

“हामीले जोखिम कम भएका खेल तथा जिल्लाहरूबाट खेलकुद गतिविधि शुरू गर्न पहल गरेका थियौं। छलफल थालेका थियौं। त्यसैबीच सरकारको अर्को खालको निर्णय आयो र हामी निष्‍कर्षमा पुग्‍न सकेनौं,” सदस्यसचिव सिलवालले भने, “तर अब सधैं यसरी रोकेर हुँदैन। भारतमै पनि आर्थिक गतिविधिहरू बढाउने भएको छ, रंगशाला खुलाउने भनिएको छ। अब हामीले पनि आर्थिक, सामाजिक, मानसिक समस्याहरूलाई मध्यनजर विस्तारै गतिविधि सञ्‍चालन गर्नुपर्नेछ। हामी खुलाउनु पर्छ भन्‍नेमा सकारात्मक छौं। यस विषयमा चाडै उचित निर्णय गर्नेछौं।”

प्रतिक्रिया दिनुहोस्