आरोप खण्डन गर्दै चीनले भन्यो- कोरोनाबारे डब्लूएचओलाई जानकारी दिन ढिलो गरिएको थिएन

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयले विदेशी आरोपको खण्डन गर्दै कोरोना भाइरसको संक्रमणबारे विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई जानकारी दिन ढिलो नगरिएको स्पष्‍ट गरेको छ।

अमेरिकालगायत मुलुकले लगाउँदै आएको आरोप तथ्यभन्दा धेरै टाढा रहेको चिनियाँ विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

समाचार एजेन्सी एसोसिएट प्रेसले प्रकाशित गरेको एक रिपोर्टलगत्तै चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया आएको हो। उक्त रिपोर्टमा चीनबाट समयमै पर्याप्त जानकारी पाउन नसक्दा डब्लुएचओका अधिकारीहरू हैरान रहेको दाबी गरिएको थियो।

“डब्लूएचओले यसकारण चीनको समर्थन गरिरहेको छ, जसबाट बढीभन्दा बढी जानकारी हासिल गर्न सकियोस्,” रिपोर्टमा लेखिएको छ।

चिनियाँ विदेश मन्त्रालयले भने चीनले कोरोना भाइरसविरुद्ध जे काम गरेको छ, त्यो विश्‍वसामु छर्लंग रहेको बताएको छ। “र, यो हरेक जाँचमा पुष्‍टि हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्