वेर्डर ब्रेमन रेलिगेसनको दबाबमा
<p>काठमाडौं। स्टेफन इल्सेन्करको दुई गोलप्रेरित इन्ट्राचट फ्रायङफर्टले गएराती वेर्डर ब्रेमनमाथि ३-० को नतिजा निकाल्दै जर्मन बुन्डेसलिगाको रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ। हारसँगै वेर्डर ब्रेमन भने रेलिगेसनको खतरामा परेको छ। </p>
<p>भ्रमणकारी फ्रायङफर्टले ६१औं मिनेटमा आन्द्र सिल्भाको गोलबाट अग्रता लिएको थियो। फिलिप कोस्टिकले वायाँ भागबाट गरेको क्रसलाई सिल्भाले हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेल सकिन ९ मिनेट बाँकी रहँदा इल्सेन्करले थप दुई गोल गरेपछि फ्रायङफर्टले सहज नतिजा निकालेको थियो। </p>
<p>८१औं मिनेटमा बास डोस्टको कर्नरमा पेनाल्टी क्षेत्रमा रहेका इल्सेन्करले गोल गरेका थिए। जोनाथन डी गुजमनको पासमा इल्सेन्करले अन्तिममा अर्को गोल थपेपछि फ्रायङफर्टले तीन अंक जोडेको थियो। </p>
<p>जितसँगै फ्रायङफर्टको २९ खेलबाट ३५ अंक रहेको छ। जुन रेलिगेसन क्षेत्रमा रहेको वेर्डर ब्रेमनभन्दा दश अंकले माथि हो। लिगमा अब पाँच खेल (१५ अंकको) बाँकी रहँदा वेर्डर ब्रेमन २५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
