रियालले उत्कृष्ट पुनरागमन गर्नेमा क्रुस विश्वस्त

काठमाडौं। स्पेनिस ला लिगाको सिजन पुनः शुरू हुँदा रियाल मड्रिडले उपाधि दौडमा सफलता हासिल गर्नेमा मिडफिल्डर टोनी क्रुसले विश्‍वास व्यक्त गरेका छन्।

कोभिड-१९ महामारीका कारण ला लिगा गत मार्चबाट स्थगित थियो। स्थगित २०१९-२० को सिजन अब ११ जुनबाट गर्ने तयारी गरिएको छ।

अहिले रियाल मड्रिड प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा दुई अंकले पछाडि छ। ला लिगामा अब ११ चरणका खेल बाँकी छन्। क्रुसको क्लब रियालले पहिलो खेल १४ जुनमा इबरविरुद्ध घरेलु मैदानमा खेल्नेछ। क्रुसले दर्शकविनाको खाली रंगशालामा खेले पनि क्लबले सफलता हासिल गर्ने विश्‍वास व्यक्त गरेका छन्।

‘‘पहिलो खेल उत्कृष्‍ट नतिजा निकाल्नका लागि प्रशिक्षणमा कडा मिहिनेत गरेका छौं। हामी यस्तो अवस्थामा अरू केही गर्न सक्दैनौं र यो अवस्था सबैमा लागु हुन्छ,’’ क्रुससले भने, ‘‘हामीले फिटनेसमा राम्रो तयारी गरेका छौं। अब लिगमा ११ खेल खेल्न बाँकी छ। पहिलो पटक हामी दर्शकविना खेल्दैछौं। हेरौं कस्तो महशुस हुन्छ। यस्तो अवस्थामा टीमले अझ राम्रो गर्नुपर्नेछ र पहिलो खेलको जितबाट त्यसको शुरूआत हुनेछ।’’

कोभिड-१९ का कारण खेल रोकिनुअघि रियालले सबै खाले प्रतियोगिताका पाँचमध्ये तीन खेलमा पराजय भोगेको थियो। एक बराबरी खेलेको थियो भने एक खेल मात्र जितेको थियो। रियालले जितेको खेल ‘एल क्लासिको’ थियो। उक्त खेलमा रियालले बार्सिलोनालाई २-० ले पराजित गरेको थियो।

क्रुसले खेलमा फर्किनुअघि बल र समूहसँग प्रशिक्षण गर्नु महत्वपूर्ण भएको बताएका छन्।

‘‘समूहमा प्रशिक्षण गर्दा धेरै राम्रो महशुस भएको छ। प्रशिक्षणमा म्याच खेल्नु राम्रो हो। यसले हामीलाई सामान्यतर्फ गएको अनुभव गराउँछ। घरमा हुँदा हामीले खासै बल छोएनौं। घरमा हुँदा शारीरिक अभ्यास भए पनि बलसँग खेल्ने वा समूहमा बस्‍ने गरेनौं,’’ क्रुसले भने, ‘‘त्यसले मैदानमा बल छुन पाउनु सबैभन्दा महत्वपूर्ण रह्यो।’’

प्रतिक्रिया दिनुहोस्