इरानमा कोभिड-१९ को दोस्रो तरंग

तेहरान। इरानमा हिजो कोभिड-१९ का तीन हजार एक सय ३४ नयाँ बिरामी फेला परेका छन्।

एक सातायता कोरोना भाइरसका संक्रमित संख्या ५० प्रतिशतको दरले वृद्धि भएको छ। हालसम्म एक लाख ६० हजार ६ सय ९६ संक्रमित पुगेका छन्। तीमध्ये आठ हजारभन्दा बढीको मृत्यु भएको छ।

पछिल्लो दैनिक आँकडा दुई महीनायताकै सर्वाधिक हो, जसले इरानमा कोभिड-१९ को दोस्रो तरंगको संकेत गर्छ।

स्वास्थ्य मन्त्रालयले भौतिक दूरी र मास्क लगाउनेलगायत भाइरसको प्रसारबाट जोगिने उपाय कडाइका साथ पालना गर्नु आवश्यक रहेको बताएको छ।

राजधानी तेहरानमै अस्पताल भर्ना हुने संक्रमित बढिरहँदा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सजग हुन आग्रह गरेका छन्। इरानले अप्रिलदेखि लकडाउन खुकुलो बनाउँदै लगेको थियो।

अमेरिकाको ब्लुमबर्ग अनलाइनका अनुसार त्यतिबेला इरानमा संक्रमित संख्या ७० हजार २९ मात्र थियो।

अहिले संक्रमितको संख्यामा वृद्धि हुनुलाई एक ठूला उद्योगपतिले सरकार दोषी बताए। उनको भनाइमा सरकारले चेतनामुलक गतिविधिमा ध्यान नदिँदाको परिणाम हो यो। उनका अनुसार इरानका नागरिकले कोभिड-१९ को महामारीलाई गम्भीरतापूर्वक लिएकै छैनन्।

प्रतिक्रिया दिनुहोस्