अमेरिकाले रोक्यो चीनबाट हुने यात्री उडान
वासिङ्टन। दुई मुलुकबीच बढ्दो तनावका बीच अमेरिकाले चीनबाट हुने यात्री उडान रोक्ने निर्णय गरेको छ।

बीबीसीका अनुसार उक्त निर्णय १६ जुनदेखि लागू हुने अमेरिकाको यातायात विभागले बताएको छ।

चीनले अमेरिकाका उडान आफ्नो आकाशमा प्रवेश गर्न नदिने भएपछि पछिल्लो निर्णय लिइएको अमेरिकी यातायात विभागको भनाइ छ।

चीनमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा छ भने अमेरिका यतिबेला संसारकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ।

कोभिड-१९ को महामारी र हङकङको प्रदर्शनलाई लिएर दुई मुलुकबीचको सम्बन्ध निरन्तर चिसिँदो छ।

अमेरिकी यातायात विभागको आदेश चीनका चारवटा एअरलाइन्सका हकमा लागू हुने छ- एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, हाइनान एअरलाइन्स र चाइना साउदर्न एअरलाइन्स।

चारवटै एअरलाइन्सले महामारीका बावजुद पनि अमेरिकामा उडान गरिरहेका थिए। चीनले गत मार्चमै अमेरिकी एअरलाइन्सका सबै उडानमा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्