उपत्यकामा लकडाउन कार्यान्वयनमा कडाई, ६८९ सवारीसाधन नियन्त्रणमा

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहानै देखि उपत्यकामा लकडाउन उल्लंघन गर्ने सवारी साधन नियन्त्रण लिने क्रम तीव्र बनाएको छ।

महाशाखाका अनुसार बिहान ९ बजेसम्म उपत्यका क्षेत्रमा ६११ दुई पाङग्रे र ७८ चार पाङग्रे सवारी साधनहरु नियन्त्रणमा लिइएको छ।

सवारी पास बोकेर हिडेकाहरु पनि अनावश्यक हिँडडुल गरिरहेकाहरूका सवारीसाधन नियन्त्रणमा लिन थालिएको छ।

हिजो मात्रै लकडाउन उल्लंघन गर्ने एक हजार ८०६ सवारीसाधन नियन्त्रणमा लिइएको थियो। विना काम सवारी साधन चलाउनेहरुलाई पनि नियन्त्रणमा लिइने महाशाखाले जनाएको छ।

एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ।

लकडाउन खुकुलो भन्ने गलत कुराको पछि नलाग्‍न महाशाखाले आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र राति ४५ स्थानमा चेकप्वाईन्ट राखी सवारीसाधनहरू चेकजाँच गर्दै आएको छ।

भित्री गल्लीहरूमा मोटरसाइकलमा ट्राफिक प्रहरी खटाइएको छ।

काठमाडौं उपत्यकामा ११ चैतदेखि आजसम्म लकडाउन उल्लघंन गर्ने ४७ हजार ३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्