भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं। इन्टरनेशनल पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङ्फु खेलाडीले चार स्वर्ण पदक जितेका छन्।

वर्ल्ड मार्सल आर्ट्स कमिटीले अनलाइनमार्फत् गराएको प्रतिस्पर्धामा नेपालले चार स्वर्णसँगै दुई रजत र एक कांस्य पदक पनि जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले बताए।

अष्ट्रियाको ब्रिगेन्जमा २८ देखि ३० मेसम्म भएको प्रतियोगितामा कमल मगर, मुन्नी सुवेदी लामा तामाङ, जमुना गुरूङ र सुदीप श्रेष्ठले स्वर्ण पदक जिते।

कमलले पुरुष ताइचीको सफ्ट स्टाइलमा स्वर्ण पदक जिते भने नन ट्रेडिसनल वेपन विधानमा कांस्य हात पारे।

सुदीपले पुरुष फम्स विथ म्युजिकमा स्वर्ण पदक जिते। मुन्नीले महिलातर्फ ताइची सफ्ट स्टायलमा स्वर्ण पदक जितेकी थिइन्।

जमुनाले महिला ताइचीमा स्वर्ण पदक जितिन्। सञ्जयराज पुटुवारले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत पदक प्राप्त गरे।

प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २३३ खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लामाले जानकारी थिए। नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन्।

सहभागी खेलाडीले आफ्नो स्पर्धाको १ देखि ३ मिनेटसम्मको भिडिओ क्लिप्स पठाउनु पर्ने थियो। एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो। एक भन्दाबढी स्पर्धामा भाग लिने खेलाडीले अतिरिक्त ५ युरो दर्ता शुल्क तिरेको अध्यक्ष लामाले बताए।

कोभिड-१९ का कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि वर्ल्ड मार्सल आर्ट्स कमिटीले यस्तो भर्चुअल प्रतियोगिता आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्