अमेरिकामा जारी रंगभेदविरुद्ध आन्दोलनको प्रभाव खेल क्षेत्रमा

काठमाडौं। प्रहरीको अत्यधिक बल प्रयोगका कारण अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा रोकिएको छैन। उनलाई एक श्‍वेत प्रहरी अधिकारीले हत्या गरेपछिको प्रभाव खेलक्षेत्रमा पनि देखिएको छ।

लिभरपुलका खेलाडीहरूले हिजो मैदानमा मध्यभागमा हुने गोलो घेरामा घुँडाले टेकेर उक्त घटनाको सांकेतिक विरोध जनाएका थिए। एन्फिल्ड मैदानमा लिभरपुलका २९ खेलाडीले घुँडा टेकेर बनाएको उक्त तस्वीरको क्याप्सनमा लेखिएको छ, ‘‘एकता शक्ति हो।’’ त्यस्तै ह्यास ट्यागमा लेखिएको छ, ‘‘ब्ल्याकलाइभ्सम्याटर’’ ।

लिभरपुलका खेलाडीहरूले हिजो प्रशिक्षण गर्ने क्रममा उक्त तस्वीर खिचाएका थिए। म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कुस रशफोर्डले रंगभेदको विरोधमा विश्‍वभर चलेको बहसमा आफ्नो आवाज मिसाएका छन्।

अश्‍वेत नागरिक फ्लोयडको २५ मेमा प्रहरीको नियन्त्रणमा मिनियापोलिसमा निधन भएको थियो। हत्यामा संलग्‍न प्रहरी अधिकारी डेरेक चौविनलाई गिरफ्तार गरी हत्या अभियोगमा मुद्दा लगाइएको छ। चौविन र थप तीनजना प्रहरीलाई यही घटनाकै कारण सेवाबाट बर्खास्त गरिएको छ।

‘‘यस घटनाले क्रोध, दया, घृणा, पीडा र उदासिन बनाएको छ,’’ फ्रान्सका मिडफिल्डर पोग्बाले इन्स्टाग्राममा लेखेका छन्, ‘‘जर्ज र दिनहुँ रंगभेदको विभेदबाट गुज्रिएकाहरू लागि यो दु:खद क्षण हो। स्कुल, फुटबल, कार्यालय सबैतिर यसलाई रोक्नुपर्छ। जातिवादका हिंस्रक कार्य अब उप्रान्त सहन सकिँदैन। म सहन सक्दिनँ। नश्लवाद अज्ञानता हो, प्रेम बुद्धिमत्ता हो। यो रंगभेद रोक्नुपर्छ।’’

म्यानचेस्टर युनाइटेडका अर्को खेलाडी राशफोर्डले पनि यस्तो क्रियाकलापले विश्‍वलाई कस्तो प्रकृयामा लैजान खोजिएको हो भनेर चिन्ता व्यक्त गरेका छन्।

‘‘म सबैलाई मिलेर, सँगै मिलेर तथा एकतावद्ध भएर अघि बढ्न आग्रह गर्छु। हामी पहिलेभन्दा झन् बढी विभाजित देखिन्छौं,’’ राशफोर्डले भनेका छन्, ‘‘मानिसहरूले चोट दिइरहेका छन्। त्यसको जफाव खोज्‍नुपर्छ। कालाहरूको जीवन, संस्कृति र समाजको महत्व छ। हाम्रो जीवनको महत्व छ।’’

लिभरपुलको उक्त तस्वीरलाई भर्जिल भान डाइक, जो गोमेज, एन्ड्रयू रोबर्टसन, ट्रेन्ट एलेजेन्टर आर्नोलड, जर्जिन्हो विजनाल्डम र जेम्स मिल्नरले पनि रिट्विट गरेका छन्।

जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो र आच्रफ हाकिमी, साल्केका वेस्टोन म्याककेनि, बोरुसिया मोन्चेनग्लाडबचका मार्कुस थुरामले मैदानमा फ्लोयडले न्याय पाउनु पर्ने भन्दै सांकेतिक दबाब दिएका थिए। तथापि चारै खेलाडीलाई जर्मन फुटबल संघले खेलको नियम उल्लंघन गरेको भन्दै अनुसन्धान गरिरहेको छ।

तथापि जर्मन फुटबल संघका अध्यक्ष फ्रिट्ज केलरले उनीहरूको भावना बुझेको र सम्मान महशुस भएको बताएका छन्।

माथि उल्लेखितबाहेक अन्य खेलाडीले पनि फ्लोयडको निधनबारे बोलेका छन्। बास्केटबलका लिजेन्ड माइकल जोर्डनले ‘गहिरो दु:ख, साँच्चिकै पीडा र धेरै आक्रोशित’ बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्