बुन्डेसलिगामा शीर्ष चारको होड रोमाञ्चक

काठमाडौं। टिमो वेर्नरले जर्मन बुन्डेसलिगामा जारी सिजन २५औं गोल गरेको दिन आरबी लाइपजिगले गएराति कोलनमाथि ४-२ को नतिजा निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। लाइपजिगको जितसँगै जर्मन बुन्डेसलिगामा शीर्ष चारको होड रोमाञ्‍चक बनेको छ।

घरेलु टीम कोलनका जोन कोर्डोबाको गोलमा सातौं मिनेटमै अग्रता लिएको थियो। २०औं मिनेटमा लाइपजिगका प्याट्रिक शिकले बराबरी गोल फर्काए। ३८औं मिनेटमा क्रिष्‍टोफर एनकुनकुको गोलमा लाइपजिगले अग्रता लियो।

दोस्रो हाफमा सात मिनेटमा तीन गोल भए। ५०औं वेर्नरले लाइपजिगको अग्रता बढाए। ५५औं मिनेटमा नपाउँदै एन्थोनी मोडेस्टेको गोलमा कोलनले पुनरागमनको प्रयास गरेको थियो। तर त्यसको दुई मिनेट नबित्दै ड्यानियल ओल्मोले अर्को गोल थपेपछि लाइपजिगले ४-२ को विजय हासिल गर्‍यो।

जितसँगै २९ खेलबाट ५८ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा उक्लिएको छ। लापइजिगले दोस्रो स्थानमा बोरुसिया डर्टमण्डलाई दबाब सिर्जना गरेको छ भने शीर्ष चारको होडलाई बलियो बनाएको छ।

लिगमा पाँच खेल बाँकी छँदा शीर्ष स्थानमा सात अंकको अग्रता लिएका कारण सविक विजेता बायर्नको उपाधि सम्भावना बलियो छ। समान ५६ अंकका साथ बोरुसिया मोन्चेनग्लाबच र बायर लेभरकुसेन क्रमशः चौथो र पाँचौं स्थानमा छ। त्यसैले च्याम्पियन्स लिग खेल्न शीर्ष चार भित्र पर्नका लागि मोन्चेनग्लाबच, लेभरकुसेन र लाइपजिगबीचको प्रतिस्पर्धा रोमाञ्‍चक बन्‍ने देखिएको छ।

लाइपजिगले अब दोस्रो स्थानको डर्टमण्डसँग खेल्नै बाँकी छ। तीन खेल घरेलु मैदानमा खेल्ने लाइपजिगले दुई अवे मैदानमा खेल्नेछ। मोन्चेनग्लाडबचले पनि शीर्ष क्लब बायर्नसँग खेल्न बाँकी छ। त्यस्तै लेभरकुसनले बायर्नसँग खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्