गण्डकी प्रदेशले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने
पाेखरा। गण्डकी प्रदेश सरकारले १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ।

प्रदेश सरकारको हिजाेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई एक लाख, रजत पदकलाई ७५ हजार तथा कांस्य पदकलाई जनही ५० हजार रूपैयाँका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ।

समूहतर्फ स्वर्ण विजेतालाई ७५ हजार, रजतलाई ५० तथा कांस्य पदकलाई ३० हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।

त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही ३० हजार, १५ हजार र १० हजार रूपैयाँका दरले सरकारले पुरस्कार दिने भएको छ।

मन्त्री बस्नेतले कोभिड–१९ को अहिलेको विषम अवस्थाका कारणले तत्कालै पुरस्कार प्रदान गर्न नसकिएकाले उपयुक्त समयमा खेलाडीहरूलाई घोषित नगद पुरस्कार प्रदान गरिने बताए।

सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ कांस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्