संविधान दोस्रो संशोधन विधेयक राजपत्रमा प्रकाशित

काठमाडौं। सरकारले 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७' नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक हिजो, १८ जेठको राजपत्रमा प्रकाशित गरिएको हो।

नेपालको पूर्ण नक्शासहितको निशान छाप अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको छ।

सरकारले संसदमा ९ जेठमा संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले हिजो प्रतिनिधि सभा समक्ष उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।

संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशित गर्नु पर्ने संवैधानिक व्यवस्था छ।

संघीय संसद् सचिवालयले पनि उक्त संशोधन विधेयक सर्वसाधारणको जानकारीका लागि गोरखापत्र दैनिक, रेडियो नेपाल र नेपाल टेलिभिजनमासमेत सूचना प्रकाशन र प्रसारण गरेको छ।

सूचनामा नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधान संशोधन गर्न लागिएको उल्लेख छ।

सर्वसाधारणसँग प्रतिक्रिया लिने उद्देश्यले नभई संविधानअनुरुप जानकारीका लागि सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

यद्यपी, विधेयकका सम्बन्धमा कुनै जिज्ञासा रहेछ भने आफ्ना जनप्रतिनिधि (सांसद) मार्फत आफ्नो भावना सर्वसाधारणले व्यक्त गर्न भने सक्नेछन्। सात दिनपछि उक्त विधेयकलाई प्रतिनिधिसभामा विभिन्न चरण र प्रक्रिया पूरा गरी निर्णयार्थ प्रस्तुत गरिनेछ।

प्रतिनिधिसभाबाट दुई तिहाइका आधारमा पारित भएपछि उक्त विधेयक राष्ट्रियसभामा प्रवेश पाउनेछ। त्यहाँ पनि प्रतिनिधिसभा जस्तै विभिन्न चरण गरेपछि निर्णयार्थ सदनसमक्ष पेश हुने विधेयकलाई दुई तिहाइका आधारमा अनुमोदन गर्नुपर्नेछ।

दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ। राष्ट्रिपतिबाट प्राप्त विधेयक १५ दिनभित्र प्रमाणीकरण हुनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएकै मितिदेखि संविधान सशोधन हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्