लकडाउनले युवा र बालबालिकामा बढाउँदैछ भविष्यको चिन्ता
काठमाडौं। कोभिड-१९ महामारीका कारण सर्वत्र चिन्ता छ। त्यसमा पनि बालबालिका र युवामा भविष्यलाई लिएर झन् बढी चिन्ता छ।

थाइल्यान्डमा गरिएको एउटा सर्वेक्षणले उनीहरू भविष्यमा हुनसक्ने आर्थिक अभाव, शिक्षामा पर्ने असर र मानसिक स्वास्थ्यबारे चिन्तित भएको देखाएको छ।

थाइल्यान्डको बालबालिका तथा युवा परिषद्, युनिसेफ, युएनडीपी र युएनएफपीएले संयुक्त रूपमा गरेको सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो। यी संस्थाहरूले संयुक्त रूपमा अनलाइनमार्फत् ३० वर्षभन्दा कम उमेरका बालबालिका र युवाबीच सर्वेक्षण गरेका थिए।

महामारीको जोखिम न्यून गर्न गरिएको लकडाउनका कारण मानसिक स्वास्थ्यमा पर्ने असरबारे उक्त सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागी बालबालिका र युवाले व्यक्तिगत जीवनबारे तत्कालीन र दिर्घकालीन दुवैथरी चिन्ता लिएको पाइएको छ।

त्यस्तै उनीहरूले लकडाउनका कारण परिवार र समाजमा पर्ने असरबारे पनि चिन्ता व्यक्त गरेका छन्।

गत महिना थाइल्यान्डका ७७ प्रान्तमा गरिएको सर्वेक्षणमा छ हजार ७७१ जना सहभागी थिए। त्यसमध्ये १५ देखि १९ वर्षबीचका युवा बढी थिए। सहभागीमध्ये महिला चार हजार ८२९, पुरुष १ हजार ८०४ र अन्य १३९ जना थिए।

उनीहरूले परिवारको आर्थिक अवस्थामा परेका असर, स्कुल तथा कलेजको परीक्षा, भाइरसबाट हुनसक्ने संक्रमण, आफ्नो शिक्षालाई कसरी अगाडि बढाउने लगायतका विषयमा चिन्ता व्यक्त गरेका छन्। धेरैजसो चाहिँ परिवारको आर्थिक अवस्थालाई लिएर चिन्तित भएको पाइएको छ।

त्यस्तै लकडाउनका कारण लामो समय घरमै बस्दा हुनसक्ने मानसिक असर, जागिर खुम्ने खतरा र शैक्षिक उपलब्धिमा पर्नसक्ने असरबारे चिन्तित भएको पाइएको छ।

सर्वेक्षणमा सहभागीमध्ये २३ प्रतिशतले लकडाउनका कारण जागिर गुमाउनु परेको बताएका छन्। त्यस्तै, बैंककमा बस्ने २० देखि २४ वर्ष उमेर समुहका मध्ये ५.५७ प्रतिशतले वर्तमान अवस्थाका कारण बसाई सर्नु परेको बताएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये अधिकांश बालबालिका तथा युवाले प्रतिदिन थप पाँच घण्टा फुर्सदको समय मिलेको बताएका छन्। २८ प्रतिशत यो फुर्सदबाट असन्तुष्ट छन् भने ३२ प्रतिशत उदास छन्।

१५ वर्ष मुनिका बालबालिकाले भने लकडाउनका कारण आफूहरू सन्तुष्ट भएको बताएका छन्। उनीहरूले अनलाईन फिल्म हर्ने, अनलाईन गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने र घरायसी काम गरेर यस समयको उपयोग गर्ने गरेको बताएका छन्।

त्यस्तै सर्वेक्षणमा सहभागी अधिकांशले अग्रेजी भाषा सिक्ने, खेलकुद, संगीत, पाककला, उपन्यास लेखन, व्यक्तित्व तथा नेतृत्व विकास जस्ता उपयोगी सीप सिकेको बताएका छन्।

उनीहरूले लकडाउनको असर जनजीवनमा पर्न नदिन सरकारले आर्थिक सहयोग तथा राहत प्याकेजको घोषणा गर्नुपर्ने चाहना व्यक्त गरेका छन्।

उच्च शिक्षा लिइरहेकाहरूले पठनपाठन कसरी अघि बढाउने भन्नेबारे ठोस सूचना आउनुपर्ने तथा अहिलेको असामान्य परिस्थतिलाई समायोजन गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूको विशेष जोड तनाव व्यवस्थापन कसरी गर्ने भन्नेमा छ।

सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्नेबारे सचेत रहेको बताएका छन्। तथापी धेरैले संक्रमण सर्नसक्ने चिन्ता व्यक्त गरेका छन्।

५६ प्रतिशत बालबालिका तथा युवाले परिवारमा सबैजनासँग पर्याप्त मात्रामा मास्क र स्यानिटाइजर जस्ता सुरक्षा समाग्री नभएकोमा चिन्ता व्यक्त गरेका छन्। ६.५ प्रतिशतले उनीहरूसँग केही सामाग्री नभएको बताएका छन्।

थाइल्यान्डमा बैंकक र केन्द्रीय प्रान्तका बालबालिका सुरक्षा उपाय सामग्रीका हिसाबले अगाडि देखिएका छन् भने उत्तरी क्षेत्र र दक्षिणी क्षेत्रका तीन प्रान्तका बालबालिका पछाडि रहेको सर्वेक्षणले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्