जुम्लाका संक्रमित प्रहरी : 'क्वारेन्टाइनको सुरक्षामा खटिएका थिए त्यहीँबाट कोरोना सर्‍यो'
काठमाडौं। जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुईजना प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा खटिएको समयमा त्यहीँबाट संक्रमण भएको पाइएको छ।

भारतबाट फर्किएकाहरूलाई राखिएको जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनको सुरक्षामा दुवैजना खटिएका थिए। संक्रमित हुनेमा एक प्रहरी हवल्दार र एक जवान हुन्।

“कार्यालयबाट सिधै उनीहरू क्वारेन्टाइनको सुरक्षामा खटिएका थिए”, जुम्लाका प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले भने, “त्यहाँकै क्वारेन्टाइनमा भारतबाट आएर बसेका मानिसहरुबाट नै संक्रमण सरेको देखिन्छ।”

उक्त क्वारेन्टाइनमा रहेका १७ जनामा हिजो, १८ जेठ राति संक्रमण पुष्टि भएको थियो। ती १७ जना नै ८ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए।

पहिलो पटक जुम्लामा हिजो दुईजना प्रहरीसहित १९ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो। त्यहाँ सुरक्षामा खटिएका उनीहरु सुरक्षा दिने र त्यही क्वारेन्टाइनमा नै बस्दै आएका थिए।

भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरूको नमूना संकलन गरेपछि सुरक्षार्थ खटिएका प्रहरीको पनि नमूना संकलन भएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उक्त क्वारेन्टाइनमा आजसम्म १८२ जना बसेका छन्।

“क्वारेन्टाइनमा सुरक्षा खटिएका प्रहरीको कार्यालयमा आउने जाने क्रम थिएन्। तर यहाँका केही स्टाफ सामान दिन गइरहन्थे”, उनले भने, “उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेका स्टाफहरुको थ्रोट स्वाबको नमूना संकलन गर्ने तयारी गरिरहेका छौं।”

संक्रमितहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्