बाँके बस दुर्घटनाका मृतक र घाइतेको कोभिड-१९ परीक्षण गरिँदै, रिपोर्टपछि मात्रै शव व्यवस्थापन गरिने

काठमाडौं। बाँकेको राप्ती सेनारी गाउँपालिका-२ स्थित जंगलमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइते सबैको कोभिड-१९ परीक्षण गरिने भएको छ।

दुर्घटनामा मृत्यु भएका १२ जना र घाइते २१ जनाको भेरी अस्पतालमा थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।

“भारतबाट आएका सबैको घरतर्फ जाने क्रममा दुर्घटनामा मृत्यु र घाइते भएका हुन्”, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, “कोरोना भाइरस संक्रमण छ वा छैन भन्‍ने जाँच गर्नैपर्छ। त्यसैले मृत्यु भएका र घाइतेको कोभिड-१९ परीक्षण गर्न नमूना संकलन गरिएको छ।”

अहिले २१ जना घाइतेहरुको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए।

“कोरोना परीक्षण गरेर रिपोर्ट के आउँछ त्यसका आधारमा अगाडि बढ्नपर्छ। संक्रमण नै देखियो भने त शव व्यवस्थापन र उपचारको प्रक्रिया नै फरक हुन्छ”, उनले भने, “त्यसैले हामीले नमूना संकलन गरिसकेका छौं। छिटो भन्दा छिटो परीक्षण गर्ने तयारी गरिरहेका छौं।”

मृतक र घाइतेमध्ये कसैमा संक्रमण देखिएमा सरकारले बनाएको निर्देशिका अनुसार शवको व्यवस्थापन र घाइतेको उपचार गर्नुपर्ने हुन्छ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना. ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करीब १ बजेको समयमा ठोक्किएर दुर्घटना भएको हो।

मृतकको सनाखत गर्ने काम भइरहेको छ।

पढ्नुहोस्:

बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, घाइते २१ जनाको उपचार हुँदै

प्रतिक्रिया दिनुहोस्