सान्चोको ह्याट्रिकमा डर्टमन्डको फराकिलो जित

काठमाडौं। इङ्ल्यान्डका जाडोन सान्चो ह्याट्रिकप्रेरित बोरुसिया डर्टमन्डले गएराती पाडरबर्नलाई ६-१ ले पराजित गर्दै शीर्ष क्लब बायर्न म्युनिखसँगको दुरी सात अंकमा छोट्याएको छ।

पाडरबर्नको मैदानमा सम्पन्‍न खेलमा सबै दोस्रो हाफमा सम्भव भएको हो। ५४औं मिनेटमा थोर्गान हाजार्डले गरेको गोलमा भ्रमणकारी डर्टमन्डले अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै सान्चोले अग्रता दोब्बर बनाए। ७२औं मिनेटमा उवे हनुमायरले पेनाल्टीमा गरेको गोलबाट पाडरबर्नले पुनरामगन गर्ने प्रयास गरेको थियो।

तर ७४औं मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गरे। अच्राफ हाकिमीले ८५ र मार्सेल शमेलजर ८९औं मिनेटमा एक एक गोल थपे। इन्जुरी समयमा सान्चोले ह्याट्रिक पूरा गरे। यससँगै २० वर्षे सान्चो १९८९ पछि इङ्ल्यान्डबाहिर युरोपका शीर्ष लिगमा ह्याट्रिक गर्ने पहिलो इङ्लिस खेलाडी बनेका छन्। यसअघि ब्रायन स्टिनले १९८९ मा ह्याट्रिक गरेका थिए।

सान्चोले पहिलो गोल गरेपछि ‘जर्ज फ्लोयडलाई न्याय देउ’ लेखेको टिसर्ट प्रदर्शन गरेका थिए। अमेरिकामा प्रहरीको अत्यधिक बल प्रयोगबाट फ्लोयडको २५ मेमा मृत्यु भएको थियो। जर्सी खोलेर भित्री टिसर्ट प्रदर्शन गरेपछि सान्चोले पहेंलो कार्डको सामना गरेका थिए।

‘‘करिअरको पहिलो ह्याट्रिक पुरा गर्न पाउँदा खुशी लागेको छ,’’ सान्चोले इन्टाग्राममा लेखेका छन्, ‘‘त्यसभन्दा खुशीको क्षण आज संसारमा केही महत्वपूर्ण घटनाहरू भएका छन्, जसको सम्बोधन गर्नुपर्छ। त्यसका लागि सानो सहयोग गर्न सकें।’’

जितसँगै डर्टमन्डले शीर्ष क्लब बायर्नसँगको दुरी सात अंकमा झारेको छ। लिगमा पाँच खेल बाँकी रहँदा बायर्न ६७ अंकका साथ शीर्ष स्थानमा छ। बोरुसिया मोन्चेनग्लाडबच ५६ अंकका साथ तेस्रो स्थानमा छ। मोन्चेनग्लाडबचले गए राति नै सम्पन्‍न खेलमा युनियन बर्लिनलाई ४-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्