गुल्मीमा क्वारेन्टाइनबाट भागेर एक व्यक्तिले गरे आत्महत्या
काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक व्यक्तिले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेका छन्।

वडा नम्बर ४ स्थित आदर्श माविको क्वारेन्टाइनमा रहेका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले रुखमा झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाले जनाएको छ।

वडाध्यक्ष डिलाराम न्यौपानेका अनुसार हिजो साँझ उनी शौच गर्न जाने भन्दै क्वारेन्टाइनबाट निस्किएका थिए।

न्यौपानेले भने, “२०/२५ मिनेटसम्म पनि नआएपछि खोजी गर्दा भेटिएनन्। त्यसपछि केही पर रुखमा झण्डिएको अवस्था शव भेटिएको हो।”

भारतको दिल्लीबाट आएका उनलाई हिजो बिहान ७ बजे क्वारेन्टाइनमा राखिएको थियो।

“नोयडा भन्ने शहरमा काम गर्ने रहेछन्। त्यहाँबाट दिल्ली डेढ महिनाजति आफन्तकोमा बसेका थिए”, वडाध्यक्ष न्यौपानेले भने, “त्यहाँ पनि उनले आत्महत्याको प्रयास गरेको खुलेको छ।”

उनले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन। प्रहरीले शवको मुचुल्का उठाएर अस्पताल लैजाने तयारी गरेको छ।

गाउँपालिकाका अनुसार मृतकको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन लागिएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्