काेराेनामुक्त भई घर फर्किए कालीमाटी वृत्तका संक्रमित दुई प्रहरी

काठमाडौं। कोरोना संक्रमण पुष्टि भएका महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुईजना प्रहरी डिस्चार्ज भएका छन्।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि दुवैजना आज डिस्चार्ज भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

डिस्चार्ज भएका दुवैजना प्रहरी सातदिन होम क्वारेन्टाइनमा रहनेछन्। त्यसपछि मात्रै उनीहरू नियमित ड्युटीमा खटिने परिसरले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बल कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

कालीमाटी वृत्तका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई संक्रमण देखिएको थियो। त्यसपछि कालीमाटी वृत्त सिल गरेर त्यहाँ कार्यरत रहेका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको थियो।

२३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। तीमध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ।

अब ९ जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरूको पनि रिपोर्ट आएमा क्वारेन्टाइनमा रहेका प्रहरी नियमित ड्युटीमा खटिनेछन्।

प्रतिक्रिया दिनुहोस्