लिभरपुलले उपाधि जित्ने खेल तटस्थ मैदानमा खेल्नुपर्ने !

काठमाडौं। लिभरपुल इङ्लिस प्रिमियर लिगको उपाधि जित्‍ने खेल घरेल मैदानमा नभई तटस्थ मैदानमा खेलाउन त्यहाँको प्रहरीले आग्रह गरेको छ।

डेपुटी चिफ कन्स्टेबल मार्क रोबर्ट्सका अनुसार स्थानीय प्रहरीले कम्तिमा पाँच खेलको मैदान परिवर्तन गर्न माग गरेको बताएका छन्। जसमा म्यानचेस्टर सिटी र लिभरपुलको खेल पनि समावेश छ।

प्रहरीले रंगशालाबाहिर समर्थकको भीड जम्मा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो। प्रहरीले शुरूमा सबै खेल तटस्थ मैदानमा खेलाउन आग्रह गरेको थियो। तर क्लबहरूले (विशेषगरी रेलिगेसनबाट बच्‍न संघर्षरत क्लबहरू) उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए।

कोभिड-१९ महामारीका कारण स्थगित प्रिमियर लिग एक सय दिनपछि १७ जुनबाट शुरू गर्ने तयारी भइरहेको छ। सरकारको औपचारिक निर्णय भने आउन बाँकी छ।

प्रहरीले बुधबार हुने म्यानचेस्टर सिटी र एस्टन भिल्लाबीचको खेलमा भने कुनै आपत्ति जनाएको छैन। तर एभर्टन र लिभरपुलबीचको खेल पनि केही दिन पर सार्न आग्रह गरेको छ।

लिरभपुल २५ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी १७ जुनमा आर्सनलसँग पराजित हुनुका साथै एभर्टनविरुद्ध लिभरपुलले विजयी नतिजा निकाले उपाधि जित्‍नेछ।

उक्त दिन ३० वर्षपछि जित्‍ने लिभरपुलको उपाधि टुंगो नलागेमा लिभरपुलले क्रिष्टल प्यालेसविरुद्ध खेल्ने खेल एनफिल्डमा नराख्‍न प्रहरीको अनुरोध छ। त्यस्तै म्यानचेस्टरको पुलिसले पनि लिभरपुल र म्यानचेस्टर सिटीबीच इतिहाद रंगशालामा हुने खेल पनि अर्को मैदानमा खेलाउन आग्रह गरेको छ।

म्यानचेस्टर पुलिसले सिटीको न्युक्यासल युनाइटेडविरुद्ध र म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडविरुद्ध खेल्ने खेल पनि अन्य मैदानमा सार्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्