कोभिड-१९ : अत्यावश्यक सामान पुर्याउन ड्रोन

वासिङ्टन। मुख्य शहरभन्दा बाहिरका अस्पतालहरूमा कोभिड-१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक सामान पुर्‍याउन अमेरिकाको नर्थ क्यारोलिनामा ड्रोनको प्रयोग थालिएको छ।

ती ड्रोनले व्यक्तिगत सुरक्षा सामग्रीको आपूर्ति गरिरहेका छन्। ११ फिटको पंखा जडित ड्रोनहरू हन्टर्सभिल्ले मेडिकल सेन्टरबाट उडान भर्छन्। ६३ माइल प्रतिघण्टाको गतिमा उडान भर्दै शहरभन्दा टाढाका अस्पतालहरूमा सामान डेलिभरी गर्छन्।

ड्रोनमा राखिने प्याकेटमा प्यारासुट जडान गरिएको छ, जसले सामानलाई सुरक्षित जमिनमा खसाउन मद्दत गर्छ। एउटा ड्रोनले एक दिनमा १० पटक सामान डेलिभरी गर्छ।

हन्टर्सभिल्ले मेडिकल सेन्टरसहित १५ वटा अस्पताल सञ्‍चालन गर्दै आएको नोभान्ट हेल्थले ड्रोन सेवा शुरु गरेको हो। अस्पतालहरूमा अत्यावश्यक सामान अभाव नहोस् भनेर सेवा शुरु गरिएको कम्पनीले जनाएको छ।

भविष्यमा स्वास्थ्य संकटका बेलामा ड्रोनको उपयोग प्रभावकारी हुने देखिएको कम्पनीको भनाइ छ।

प्राकृतिक विपत्ति, भूराजनीतिक तनावलगायत संकटका बेला स्वास्थ्य सामग्रीको आपूर्ति कठिन बन्‍ने र ड्रोन त्यसका लागि उपयोगी हुने नोभान्ट हेल्थकी चिफ डिजिटल एन्ड टेक्नोलोजी अफिसर एन्जेला योचेम बताउँछिन्।

“हामीलाई बिरामीको उपचारमा रहेका अवरोधहरू छिचोल्ने उपायहरू अवलम्बन गर्नुछ,” उनले सीएनएनसँग भनिन्, “मानिसलाई बचाउन त्यस्ता उपाय उपयोगी हुन सक्छन्।”

स्वास्थ्य सामग्रीको आपूर्तिका लागि ड्रोन उडाउन नोभान्ट हेल्थले फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)बाट अनुमति पाएको छ। ‘जिपलाइन’ नामक स्टार्टअप कम्पनीले नोभान्ट हेल्थलाई ड्रोन उपलब्ध गराएको छ।

हालसम्म एक लाख १० हजार थान स्वास्थ्य सामग्री ढुवानी गरिसकिएको जिपलाइनले जनाएको छ। उक्त कम्पनीले सन् २०१६ देखि रुवान्डा र गत वर्षदेखि घानामा पनि ड्रोन सेवा सञ्‍चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्