डब्लूएचओबाट अमेरिकालाई अलग गर्दै ट्रम्प

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट अलग गर्दै गरेको बताएका छन्।

कारोना भाइरसको संक्रमण शुरुमै रोक्न डब्लूएचओ असफल भएको आरोप उनले लगाए। यसअघि नै ट्रम्पले डब्लूएचओलाई दिइँदै आएको सहायता बन्द गराइसकेका छन्। “डब्लूएचओ चीनको कठपुतली हो,” उनले भने।

“हामीले डब्लूएचओमा व्यापक सुधारका लागि अनुरोध गर्‍यौं। तर, सुधार ल्याउन असफल भयो। त्यसैले हामी डब्लूएचओसँगको नाता तोड्दै छौं,” स्थानीय समयअनुसार हिजो ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अमेरिकाले डब्लूएचओलाई दिइँदै आएको सहायता रकम अब विश्‍वव्यापी सार्वजनिक स्वास्थ्यमा खर्च गर्नेछ। डब्लूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ। जबकि, चीनले अमेरिकाले भन्दा साह्रै कम सहायता दिन्छ।”

बीबीसीका अनुसार गत महीना ट्रम्पले डब्लूएचओमा ३० दिनभित्र ठोस सुधार नदेखिए अमेरिकाले आफ्नातर्फबाट दिँदै आएको सहायता स्थायी रूपमै बन्द गराउने चेतावनी दिएका छन् । डब्लूएचओको गल्तीको सजायँ पूरै विश्‍वले भोग्‍नु परेको आरोप उनको थियो । एक पत्र पठाउँदै उनले ‘चीन परस्त’ मानसिकताबाट बाहिर निस्किन पनि चेतावनी दिएका थिए ।

चीनतर्फ निशाना साँध्दै ट्रम्पले भने, “चीन सरकारको अपराधको सजायँ पूरै विश्‍वले भोग्‍नु परिरहेको छ । चीनले विश्‍वव्यापी महामारीको शुरुवात गर्‍यो, त्यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीलाई गुमााएर हामीले चुकाउनुपर्‍यो ।”

‘अमेरिका फस्ट’ नीतिबाट सत्तामा पुगेका ट्रम्पले राष्‍ट्रपति बन्नासाथ आफ्नो नीतिलाई आक्रामक ढंगले लागू गराइरहेका छन् । सत्तामा आउनासाथ उनले संयुक्त राष्‍ट्रसंघीय मानव अधिकार परिषद्‍बाट अमेरिकालाई अलग गरेका थिए ।

त्यसपछि संयुक्त राष्‍ट्रसंघको सांस्कृतिक एजेन्सी युनेस्कोबाट अमेरिकालाई अलग गराएका थिए । जलवायु परिवर्तन सम्झौताबाट अलग्गिए । र, इरानसँगको परमाणु सम्झौता पनि रद्द गरिदिए ।

प्रतिक्रिया दिनुहोस्