पूर्वउपरथी श्रेष्ठबाट ५८ लाख असुल गर्ने सैनिक अदालतको फैसला
काठमाडौं। समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा अवकाशप्राप्त पाइलट उपरथी सुधीर श्रेष्ठलाई कारबाही गर्ने फैसला गरेको छ। पूर्वउपरथी श्रेष्ठले सैनिक सेवाबाट अवकाश पाइसकेका छन्।

हवाई महानिर्देशनालयमा भएका अनियमितता छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति ४ चैत २०७६ को रायसहितको प्रतिवेदनको आधारमा जनरल सैनिक अदालत गठन गरिएको थियो।

महानिर्देशनालयका तत्कालीन महानिर्देशक पाइलट उपरथी श्रेष्ठसहित १९ जना प्रतिवादीहरू उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गरिएकोमा अदालतले १२ जेठमा गरेको फैसला आज उनीहरूलाई सुनाइएको जंगीअड्डाले जनाएको छ।

अदालतले पूर्वउपरथी श्रेष्ठलाई नसिहत तथा रकम असुल गर्ने फैसला गरेको छ भने आठजना सैनिक अधिकृतलाई सचेत गराउने र एकजना अधिकृत तथा ९ जना अन्य दर्जाका सैनिकलाई सफाइ दिने फैसला गरेको छ।

श्रेष्ठ तत्कालीन सैनिक हवाई महानिर्देशक रहँँदा ५८ लाख ९५ हजार ५९० रूपैयाँ अनियमितता गरेको पाइएको भन्दै सैनिक अदालतले उक्त रकम असूल उपर गर्ने फैसला गरेको हो।

नेपाली सेनाले पद्दति र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई कारबाही गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्