बेटिस र सेभियाबीचकाे डर्बी खेलबाट ला लिगा ११ जुनबाट शुरू हुने

काठमाडौं। स्पेनिस ला लिगा ११ जुनबाट पुनः शुरू हुने र अर्को सिजन १२ सेप्टेम्बरबाट शुरू हुने लिगका अध्यक्ष जाभियर टेबासले बताएका छन्।

अध्यक्ष टेबासले लिग खाली रंगशालामा हुने र पुनः शुरू हुँदाको पहिलो खेल रियाल बेटिस र सेभियाबीच डर्बी खेल हुने बताएका छन्।

‘‘हामी पुनः शुरू गर्न तयार छौं। र, लिग सकिएको दिन हाम्रो लागि महत्त्वपूर्ण हुनेछ’’, स्पेनिस पत्रिका मार्कासँग टेबासले भनेका छन्।

गत शनिबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको शीर्ष श्रेणीका दुई लिग ८ जुनबाट सञ्चालन गर्ने सक्ने भनेर अनुमति दिएका थिए। ला लिगाका क्लबहरूले गत साताबाट १० भन्दा धेरै खेलाडीको समूहमा प्रशिक्षण गर्न शुरू गरेका थिए।

कोरोना भाइरसका कारण स्पेनमा १२ मार्चबाट फुटबल स्थगित भएको थियो। टेबासले अब छिट्टै क्लबहरूले पूर्णरूपमा प्रशिक्षण शुरू गर्ने बताएका छन्।

लिगमा ११ खेल बाँकी रहँदा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा छ भने दुई अंक कम भएको रियाल मड्रिड दोस्रो स्थानमा छ।

इङ्लिस प्रिमियर लिगले १७ जुनबाट स्थगित सिजन शुरू गर्ने घोषणा गरेको छ। त्यस्तै इटालियन सिरी ‘ए’ पनि २० जुनबाट शुरू गर्ने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्