काभ्रेमा बाढीले दुईवटा पुल बगायो

धुलिखेल । काभ्रेको पनौती नगरपालिका-७ स्थित पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।

पनौतीको त्रिवेणीघाट र इन्द्रश्‍वर मन्दिरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ संकटा जोड्ने पुल बगाएको हो ।

त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आई रोशीखोलामा रहेको दुई पक्की पुल बगाएको जानकारी दिए ।

पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यमाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए । “पनौती क्षेत्रमा यति ठूलो बाढी १३ असोज २०१३ पछि आएको हो,” कर्माचार्यले भने, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोलाछेउको टिपर गुड्ने बाटो पनि भत्कायो । एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” सडकछेउमा पार्किङ गरी राखेको बा५ख ३६८९ नम्बरको निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २ सय मिटर तल बगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्