कपिलवस्तुको सीमा नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं। कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृत्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले मृत्यु भएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

“सीमा क्षेत्रमै मृत्यु भइसकेको थियो। कृष्णनगर नाकामै थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो”, उनले भने, “परीक्षणका क्रममा मृतक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।”

महाशाखा प्रमुख डा. चौधरीले कन्ट्याक्ट ट्रेसिङ गरेर उनीसँगै आएका व्यक्तिहरूको नमूना परीक्षण गरिने जानकारी दिए।

भारतबाट नेपाल आउने क्रममा कृष्णपुर नाकामा मृत्यु भएपछि शव अर्चाखाँची नै लगिएको थियो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का स्थायी वासिन्दा ती युवकको मृत्यु भएपछि सोही दिन सन्धिखर्क लगेर दाहसंस्कार गरिएको थियो।

“नाकामै मृत्यु भएपछि त्यहीँ नमूना संकलन गरेर शव सन्धिखर्क ल्याइएको थियो”, अर्चाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले देखापढीसँग भने, “आज कोरोना संक्रमण पुष्टि भएको छ। अब हामी उनीसँगै आएका व्यक्तिहरूको नमूना परीक्षण गर्छौं।”

उनका अनुसार मृत्यु भएकै दिन मृतकको शव गाडेर दाहसंस्कार गरिएको थियो।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन।

प्रतिक्रिया दिनुहोस्