सर्वोच्चद्वारा लकडाउनलाई शून्य अवधि मान्ने फैसला, लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नजाने
काठमाडौं। सर्वोच्च अदालतको १९ सदस्यीय वृहत पूर्ण इजलासले लकडाउनको अवधिलाई शून्य समय मान्ने फैसला गरेको छ। लकडाउनका कारण हदम्याद, म्याद तथा तारेख नछुट्ने फैसला भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा सर्वोच्चका सबै १९ जना न्यायाधीश सम्मिलित इजलासले त्यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले तयार पारेको प्रतिवेदन तथा अधिवक्ताहरु टीकाराम भट्टराई र महेश्वर श्रेष्ठले दायर गरेको रिटलाई संगै राखेर सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले लकडाउनको अवधिमा महत्वपूर्ण मुद्दा मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो।

त्यसरी सीमित मुद्दा मात्र दर्ता र सुनुुवाइ हुँदा छुट्न जाने अन्य मुद्दाको हदम्याद, म्याद र तारेख लकडाउन खुलेको १० दिनसम्म रहने गरी गणना गर्ने निर्णय भएको थियो।

तर सर्वोच्च अदालतलको प्रशासनिक निर्णयले कानूनमा नै व्यवस्था भएको हदम्याद, म्याद र तारेख जस्ता व्यवस्था परिवर्तन गर्न सक्छ कि सक्दैन भन्ने कानूनी प्रश्न उठेको थियो।

त्यही प्रश्न हल गर्न बसेको सर्वोच्चका सबै न्यायाधीश सम्मिलित इजलासले लकडाउन खुलेको ३० दिनसम्म मुद्दामा हदम्याद, म्याद र तारेख नजाने फैसला दिएको हो ।

प्रतिक्रिया दिनुहोस्