यस्तो छ स्वास्थ्य क्षेत्रको बजेट, गत वर्षभन्दा २१ अर्ब ९१ करोड बढी
काठमाडौंl स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी ९० अर्ब ६९ करोड बजेट पुर्‍याइएको छ।

आज संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड बजेट छुट्याएको बताएका छन्।

गत वर्ष ६८ अर्ब ७८ कराेड बजेट छुट्याइएकाे थियाे।

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेटसमेत व्यवस्था गरिएको छ।

कोरोना रोगलगायत अन्य संक्रामक रोगविरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीका लागि पाँच लाखसम्मको बीमा व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए।

आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० शय्याको सेवासुविधा सम्पन्न छुटै सरुवा रोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेशका राजधानीको अस्पतालमा थप २५० शय्याका आईसीयू बेड स्थापना र सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिनेछ।

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए।

त्यस्तै सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुसार आगामी वर्ष २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड र साविकका जिल्ला र अञ्चल अस्पतालको स्तराेन्नति गर्न पनि आवश्यक बजेट व्यवस्था गरिएको छ।

नसर्ने रोग जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच अर्ब १० करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उनले बताए।

आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ।

क्षयरोग, एड्स तथा यौनरोग र कुष्ठरोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्न चार अर्ब २२ करोड विनियोजन गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्