घुम्तीमा फेरि भेटिनेछैनन् रत्नशमशेर थापा

काठमाडौं। जबजब दशैं नजिकिँदै जान्छ, मालश्रीका धुनहरूसँगै एउटा गीत रेडियो र टेलिभिजनमा गुन्जिन थाल्छ-

‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा।’

नारायणगोपाल र दिलमाया खातीको स्वरमा सजिएको यो गीतका रचनाकार रत्नशमशेर थापा अब भौतिक दुनियाँमा रहेनन्। आज दिउँसो १२ बजेतिर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार नारायण ओलीले बताएका छन्।

"स्वास्थ्यमा समस्या आएपछि हिजो (१४ जेठ) बेलुका नर्भिक अस्पतालमा लगिएको थियो। आज मध्यान्ह १२ बजेतिर अस्पतालले उहाँको निधन भएको घोषणा गर्‍यो", संगीतकार ओलीले जानकारी दिए।

८१ वर्षको उमेरमा शमशेरले संसार छोडेसँगै नेपाली सुगम संगीतको पहिलो पुस्ताको साक्षीको निधन भएको छ।।

१६ साउन १९९६ सालमा काठमाडौंको कमलपोखरीमा जन्मिएका थिए थापाले संगीतमय माहोल भएको परिवार पाएका थिए। साँझ परेपछि दुई, तीन घण्टा सबै जम्मा भएर गाना-बजाना हुने परिवार थियो उनको । त्यहीँबाट टुसाएको संगीतको भोकमा २०१६ सालमा त्रिचन्द्र कलेज गएपछि पाएको संगतले उकेरा हालेको थियो। प्रेमध्व प्रधान, माणिकरत्न, नातीकाजी, नारायण गोपालहरूसितको संगत थियो उनको । त्यही संगतबाट गीत लेखनमा प्रवेश गरेका थिए उनी ।

यो लामो संगीत यात्रामा उनले नेपाली सुगम संगीतलाई कालजयी गीतहरू योगदान गरेका छन्। अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, फत्तेमान राजभण्डारी, नातिकाजी लगायतले उनका गीत गाएका छन्। नारायणगोपालको पहिलो अल्बमका सबै गीत थापाले लेखका थिए।त्यहीँबाट नेपाली आधुनिक गीतको इतिहास शुरू भएको मानिन्छ।

‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘आँखाको भाका’ जस्ता कालजयी गीतका रचनाकार थापा अब केवल आफ्ना शब्दहरूमा मात्रै रहनेछन्। तर जब घुम्ती आउनेछन् र आँखा जुध्नेछन्, थापाका गीत बज्नेछन्ः

‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन

बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन।’

प्रतिक्रिया दिनुहोस्