प्रदेश २ मा ४०० पुगे संक्रमित, ९७ जना कोरोनामुक्त

महोत्तरी। प्रदेश २ मा कोरोना संक्रमितको कूल संख्या ४०० पुगेको छ।

आज बिहान ९ बजे थप ७६ जनामा संक्रमण पुष्टि भएपछि यस प्रदेशमा जम्मा संक्रमित ४०० पुगेका हुन्।

पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा ११२ संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० जना छन्। सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेहरूको भीड लागेको छ। भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको संख्या ह्वात्तै बढेको हो।

प्रदेशमा संक्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केकाहरू रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

प्रदेशभरि अहिलेसम्म १० हजार ५८९ को थ्रोट स्वाब नमूना संकलन गरिएको छ। क्वारेटाइनमा रहेकारूको स्वाब संकलन अहिले पनि जारी छ।

संकलन गरिएकामध्ये दुई हजार २७४ जनाको रिपोर्ट आज साँझसम्म आइपुग्ने झाले जानकारी दिए।

यस प्रदेशमा उपचारपश्‍चात कोरोनामुक्त भएर घर फर्कनेको संख्या ९७ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्