हाइड्रोक्सिक्लोरोक्वाइनका पक्षधर अर्का राष्ट्रपति पनि थपिए

सानसाल्भाडोर। एलसाल्भाडोरका राष्‍ट्रपति नयिब बकेले पनि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्‍वाइनलाई कोभिड-१९ का बिरामीको उपचारमा प्रयोग गर्ने पक्षमा उभिएका छन्।

हाइड्रोक्सिक्लोरोक्‍वाइन सेवन गर्दै आएको बताउने उनी दोस्रा राष्‍ट्र प्रमुख हुन्। यसअघि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि खाने गरेको बताएका थिए। फ्रान्सले भने हाइड्रोक्सिक्लोरोक्‍वाइनको प्रयोगमा रोक लगाएको छ।

हाइड्रोक्सिक्लोरोक्‍वाइन कोरोना भाइरसको संक्रमण रोकथाम या बिरामीको उपचारमा प्रयोग गर्न हुने-नहुने प्रमाणित नभएको र जथाभावि प्रयोग गर्दा घातक हुन सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्।

सीएनएनका अनुसार एलसाल्भाडोरका राष्‍ट्रपति बकेलेले अमेरिकी समकक्षी ट्रम्पले जस्तै आफूले पनि रोग निरोधक औषधिका रूपमा हाइड्रोक्सिक्लोरोक्‍वाइन सेवन गरिरहेको बताएका हुन्।

एलसाल्भाडोरका लागि अमेरिकी राजदूतमार्फत दुई सय ५० वटा भेन्टिलेटर सहयताका रूपमा ग्रहण गर्दै बकेलेले आफूले पनि उक्त औषधि सेवन गरिरहेको बताएका हुन्।

“सबैलाई हाइड्रोक्सिक्लोरोक्‍वाइन सेवन गर्न आग्रह गर्छु, जसले कोरोना भाइरसको संक्रमण हुने सम्भावना न्यून बनाउँछ,” उनले भने। समारोहमा उनले हाइड्रोक्सिक्लोरोक्‍वाइन बोकेरै आएका थिए।

प्रतिक्रिया दिनुहोस्