कोभिड-१९ का बिरामीलाई हाइड्रोक्सिक्लोरोक्वाइन दिन फ्रान्सले लगायो रोक

पेरिस। मलेरियाविरुद्धको औषधि ‘हाइड्रोक्सिक्लोरोक्‍वाइन’ कोभिड-१९ का बिरामीका लागि प्रयोग गर्न फ्रान्सले रोक लगाएको छ।

सल्लाहकार संस्थाहरूको अध्ययनमा उक्त औषधि दिइएका बिरामीको शरीरमा साइड इफेक्ट देखिएपछि रोक लगाइएको फ्रान्स सरकारले बताएको छ।

तर, अमेरिकासहित धेरै मुलुकमा कोभिड-१९ का बिरामीका लागि सोही औषधि प्रयोग भइरहेको छ। र, कतिपय मुलुकमा यसको क्लिनिकल परीक्षण पनि भइरहेको छ।

अमेरिकामा आपतकालीन अवस्थाका लागि यो औषधि बिरामीलाई दिन सरकारले अनुमति दिएको छ। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले यो औषधिको खुलेर वकालत गर्दै आएका छन्। र, उनी आफैंले हाइड्रोक्सिक्लोरोक्‍वाइन सेवन गर्दै आएको बताएका छन्।

ब्राजिलका राष्‍ट्रपति जायर बोल्सोनारो पनि हाइड्रोक्सिक्लोरोक्‍वाइनका पक्षधर हुन्। उनले त सामान्यदेखि गम्भीर बिरामीसम्मलाई यो औषधि दिन अनुमति दिएका छन्।

भारत यो औषधिको मुख्य उत्पादक देश हो। भारत सरकारले यसको प्रयोगको दायरा बढाउँदै ‘प्रिकसनरी’ औषधिका रूपमा स्वास्थ्यकर्मीहरूलाई दिने निर्णय गरेको छ।

तर, कुनै पनि अध्ययनमा ‘हाइड्रोक्सिक्लोरोक्‍वाइन’ कोरोना संक्रमणको उपचारका लागि उपयुक्त रहेको पुष्‍टि भएको छैन। विश्‍व स्वास्थ्य संगठनले सुरक्षाको कारण बताउँदै यसको क्लिनिकल परीक्षणमा अस्थायी रोक लगाएको छ।

कतिपय स्थानमा भने कोभिड-१९ को उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्‍वाइन’को प्रयोगसम्बन्धी परीक्षण जारी छ। स्विट्जरल्यान्डको औषधि कम्पनी नोभार्टिसले अमेरिकामा परीक्षण गरिरहेको छ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा थाइल्यान्डस्थित महिडोल अक्सफोर्ड ट्रपिकल रिसर्च युनिटमा पनि यसबारे शोध भइरहेको छ।

यस्तै, अफ्रिकी मुलुक नाइजेरियाले ‘हाइड्रोक्सिक्लोरोक्‍वाइन’सँग जोडिएको ‘क्लोरोक्‍वाइन’को क्लिनिकल परीक्षणका लागि दबाब दिइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्