कञ्चनपुरमा मृत्यु भएका वडाध्यक्षको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडाैं। कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका बेला मृत्यु भएका वडाध्यक्षकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कृष्णपुर नगरपालिका-७ का ५८ वर्षीय वडाध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको थियो।

उनको मृत्युपछि कोरोना परीक्षण गरिएको थियो। धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासि बेहोस भएका थिए। बेहोस भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएकाे थियाे।

त्यस्तै कैलालीको गौरीगंगा गाउँपालिका-९, भगवानपुर मसुरियाका ५५ वर्षीय वीरबहादुर बन्तोलाको आज बिहान मृत्यु भएको थियो। १३ जेठमा भारतबाट आएका उनको आज बिहान मृत्यु भएपछि कोरोना परीक्षण गरिएको थियो। उनको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ।

भारतबाट तीन दिनको बसमा यात्रा गरेर नेपाल आउने क्रममा गौरीफन्टा नाकामा उनी एक्कासि बेहोस भएका थिए। सेती प्रादेशिक अस्पतालमा उपचारपछि अवस्था सामान्य भए पनि भारतबाट आएको हुनाले निगरानीका लागि आइसोलेसन वार्डमा राखिएको थियो।

अवस्था सामान्य रहे पनि आज बिहान छारे रोगका कारण बेहोस भएका थिए। बेहोस अवस्थामै रहेका उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्