डीएसपीमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। प्रहरी नायव उपरीक्षकमा बढुवा भएका ६० जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित अतिरिक्त प्रहरी महानिरीक्षकले ६० जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

१३ जेठको गृह मन्त्रालय सचिवस्तरीय निर्णयले ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो।

प्रहरी महानिरीक्षक ज्ञवालीले सबैलाई बधाई र शुभकामना दिँदै संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए।

व्यक्तिभन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उल्लेख गर्दै राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्न निर्देशन उनले दिए।

क्षणिक स्वार्थलाई त्याग्दै राष्ट्र र नागरिकको सेवामा समर्पित भएर पूर्ण नैतिकवान भई काम गर्दै संगठनको गरिमा अझै माथि उठाउन एकताबद्ध भई टिमवर्कमा लाग्नुपर्ने उनले जोड दिए।

पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै व्यावसायिक कार्यदक्षता, इमान्दारिता, सेवाभाव तथा कार्यसम्पादनको स्तरलाई आधार मानेर प्रहरी कर्मचारीहरूको मूल्याङ्कन हुने आईजीपी ज्ञवालीले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्