लकडाउनले 'नोस्टाल्जिया’मा पारस

काठमाडौं। नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले आज ट्विटमा एउटा तस्वीर राखेका पुराना दिनको सम्झना गरेका छन्।

नेदरल्यान्ड्सको आम्सटेलभिनस्थित भीआरए क्रिकेट मैदानमा नेपालले पहिलो एकदिवसीय अन्तर्राष्‍ट्रिय क्रिकेट खेल जितेको तस्वीर राख्दै पारसले लेखेका छन्, ‘‘सधैं राम्रो लाग्‍ने क्षण ...!’’

पारसले राखेको उक्त तस्वीर नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्‍ट्रिय जितपछिको हो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्‍चक विजय हासिल गरेको थियो। त्यही खेलमा विजय हासिल गरेपछिको रोमाञ्‍चक क्षणलाई कैद गरिएको तस्वीर पारसले आज राखेका हुन्।

नेपालले उक्त खेलमा अन्तिम बलमा विकेट लिएपछि एक रनको विजय हासिल गरेको थियो। अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जित्‍नका लागि ६ रन आवश्यक थियो। अन्तिम ओभर लिएर तत्कालीन कप्तान पारस आफैं आएका थिए। क्रिजमा फ्रेड क्लासेन र पाउल भान मिकेरेन थिए।

अन्तिम ओभरको पहिलो बलमा पारसले एक रन दिए। दोस्रो बलमा रन दिएनन्। तेस्रो बलमा एक रन दिए। चौथो बलमा क्लासेनले दुई रन लिए। नेपालमाथि दबाब थपिँदै थियो। पारसले पाँचौं बलमा पनि रन दिएनन्। अन्तिम बलमा नेदरल्यान्ड्सलाई दुई रन आवश्यक थियो। एक रन जोडे मात्र पनि खेल बराबरी हुन्थ्यो।

पारसको अन्तिम बलमा क्लासेनले हानेको स्ट्रेट सटले स्टममा लागेर बेल झरिसकेको थियो। बल पारसको हातमा पुग्यो। बेल झरिसकेकाले क्लासेनलाई रन आउट गर्न स्टम उखेल्नुपर्थ्यो । पारसले त्यही गरेर नेपाललाई एक रनको रोमाञ्‍जक जित दिलाए।

जितसँगै नेपालले दुई खेलका एकदिवसीय अन्तराष्‍ट्रिय शृंखलामा १-१ को बराबरी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्